गीति नाटक मुनामदन र नेपाली संस्कृतिसँगै सांस्कृतिक संस्थानको यात्रा : सात प्रदेशमा

गीति नाटक मुनामदन र नेपाली संस्कृतिसँगै सांस्कृतिक संस्थानको यात्रा : सात प्रदेशमा


गीति नाटक मुनामदन र नेपाली संस्कृतिसँगै सांस्कृतिक संस्थानको यात्रा : सात प्रदेशमा 

नेपाल सरकारको सजीव संस्कृति प्रदर्शन सम्बन्धी एकमात्र ज्येष्ठ एवम् आधिकारिक निकाय सांस्कृतिक संस्थानको कलाकार समूह नेपाली संस्कृति प्रवर्द्धन र संस्कृतिका माध्यमबाट नवजागरण प्रवाह गर्ने उद्देश्यकासाथ आज मिति २०८२ वैशाख ३ गतेबाट गीति नाटक मुनामदन र नेपाली संस्कृतिसँगै सांस्कृतिक संस्थानले सात प्रदेशमा  यात्रा थालनी गरेको छ । महाकवि लक्ष्मीप्रसाद देवकाटाको लोकप्रिय खण्डकाव्यमा आधारित संस्थानका पूर्वकर्मचारी नेपाल कलाभूषण श्री चन्द्रराज शर्माको सङ्गीत, संस्थानका पूर्वमहाप्रबन्धक स्वरसम्राट नारायणगोपाल, तारादेवी लगायतले गाउनुभएको कालजयी कृति “गीति नाटक मुनामदन” राष्ट्रिय नाचघरदेखि सांस्कृतिक संस्थानसम्मको इतिहासमा लगातार ६/७ महिनाभन्दा बढी प्रदर्शन भई रजत जयन्ती मनाउन सफल संस्थानको सबैभन्दा लोकप्रिय, उत्पादनमैत्री एवम् ऐतिहासिक गीति नाटक हो । गीति नाटक मुनामदन वि.सं. २०३२ साल असार ५ गते पहिलोपटक प्रदर्शन भएको र त्यस पश्चात् थुप्रैपटक मञ्चन तथा प्रदर्शन भएतापनि वर्षौंदेखि (झण्डै १५/२० वर्षदेखि) श्रव्य सामग्री हराएर मञ्चन तथा प्रदर्शन हुन सकेको थिएन तर वर्तमान महाप्रबन्धक किरण बाबु पुनको अथक प्रयासमा श्रव्य सामग्री उत्खनन गरी प्राप्त गर्न सफल भएकाले फेरि एकपटक ऐतिहासिक गीति नाटक मुनामदन मञ्चन गरी नियमित प्रदर्शन गर्ने उद्देश्यकासाथ नयाँ वर्ष २०८२ को अवसरमा आयोजित “शुभारम्भ सांस्कृतिक साँझ २०८२” मार्फत वैशाख १ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डेज्यूको हातबाट “गीति नाटक मुनामदन” र कार्यक्रम “नेपाली संस्कृति” समुद्घाटन गरिएको थियो । सो कार्यक्रम वैशाख ५ गते सोलुखुम्बु सल्लेरीमा प्रदर्शन गर्न संस्थानको कलाकार समूहले आज यात्रा तय गरेको हो । सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले सात प्रदेशको कार्यक्रममा सहभागी हुने कलाकार समूहलाई बिदाई एवम् शुभयात्राको कामना गर्नु भएको छ । संस्थानका पूर्वकर्मचारी गोविन्द प्रसाद तिमिल्सिनाले पहिलो निर्देशन गर्नुभएको “गीति नाटक मुनामदन” मा तत्कालीन कलाकार कर्मचारीहरू विमला श्रेष्ठ मुना र कोकिल गुरुङ मदनको भूमिकामा अभिनय गर्नुभएको थियो भने अन्य भूमिकामा संस्थानका कलाकार कर्मचारीहरूको अभिनय रहेको थियो । हाल उक्त गीति नाटक संस्थानमा कलाकार सेवामा कार्यरत कर्मचारी माया थापाको निर्देशनमा सुशिला थापा मुना र विपिन घिमिरे मदनको भूमिकामा तथा अन्य भूमिकामा संस्थानका कलाकार कर्मचारीहरुको अभिनय रहेको छ ।

IMG-20250416-WA0002.jpg

संस्थानका कार्यक्रम तथा योजना शाखा संयोजक श्री रेखा कुमारी कटुवाल श्रेष्ठज्यूको संयोजकत्वमा कलाकार समूहले यात्रा तय गरेको छ । साथमा नेपाल पर्यटन बोर्डका प्रतिनिधि र नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका प्रतिनिधिको समेत सहभागीका लागि यात्रा तय गरिएको छ । सांस्कृतिक संस्थानको प्रस्तुति, नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सहकार्य, नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको विशेष सहयोग तथा विभिन्न सरकारी एवम् गैरसरकारी निकाय बीच समन्वय रहनेगरी “सांस्कृतिक पर्यटनका लागि संस्कृति प्रवर्द्धन, संस्कृति प्रवर्द्धनका लागि नवजागरण” भन्ने श्लोकनकासाथ जागरणमूलक सांस्कृतिक कार्यक्रम “नेपाली संस्कृति” सात प्रदेशमा प्रदर्शनीका लागि सांस्कृतिक संस्थानको कलाकार समूहले यात्रा थालनी गरेको छ । नेपाली संस्कृतिको प्रवर्द्धन मार्फत सांस्कृतिक पर्यटनको विकास र नवजागरण प्रवाह गर्ने उद्देश्यले सात प्रदेशमा कार्यक्रम प्रदर्शन गरिनेछ । 

IMG-20250416-WA0004.jpg

सात प्रदेशमा प्रदर्शन गरिने कार्यक्रम “नेपाली संस्कृति” मा महाकवि लक्ष्मीप्रसाद देवकाटा कृत लोकप्रिय खण्डकाव्यमा आधारित गीति नाटक मुनामदन जसमा वर्तमान नेपालको परिवेश प्रतिविम्बित भएकोले युवापुस्तामाझ विदेशभन्दा स्वदेशप्रतिको मोह बढाउने सन्देश सम्प्रेषण गर्न, नेपाली समाजमा विद्यमान विभिन्न विकृति, बेथिति, अप्रिय घटनाहरू र व्यक्तिगत घटनाहरू जस्तैः जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाइँसराइ आदि सम्बन्धी घटना दर्ता सम्बन्धी जनचेतनामूलक सन्देश सम्प्रेषण गर्न, नेपालको पहिचानयुक्त लोकगीत, लोकनृत्य तथा सम्बन्धित स्थानीय तहको मौलिक संस्कृति समेत समेटिने गरी नेपाली संस्कृति प्रवर्द्धनमूलक एवम् नवजागरणमूलक सांस्कृतिक पर्यटनमैत्री कार्यक्रम प्रस्तुत गरिनेछ । 

कार्यक्रम : “नेपाली संस्कृति” साथमा ऐतिहासिक गीति नाटक मुनामदन र घटना दर्ता सचेतना प्रस्तुति
मिति र स्थान : सोलुखुम्बु सल्लेरी वैशाख ५ गते, जनकपुर वैशाख ७ गते, महेन्द्रनगर वैशाख १० गते, वर्दिया गुलरिया वैशाख १२ गते, सुर्खेत वैशाख १४ गते ।
आयोजक : नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सांस्कृतिक संस्थान ।
प्रवद्र्धक : नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेपाल पर्यटन बोर्ड ।
सहकार्य : नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग ।
विशेष सहयोग : नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय ।
समन्वय : सात प्रदेशका प्रदेश सरकार, स्थानीय सरकार तथा विभिन्न सरकारी एवम् गैरसरकारी निकायहरू ।

वि.सं.२०१६ सालमा राष्ट्रिय नाचघरको रूपमा स्थापित तथा नाम परिमार्जन सहित वि.सं.२०२९ सालमा पुनर्गठन भएको सांस्कृतिक संस्थान ६५ वर्षीय सांस्कृतिक विरासत कायम राख्न सफल नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ एवम् आधिकारिक निकाय हो । सांस्कृतिक संस्थानले स्थापनाकालदेखि नेपाल सरकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, समारोह, उत्सव, पर्व तथा विशेष कार्यक्रमहरूमा नेपालको पहिचानयुक्त कार्यक्रमहरू प्रस्तुत गर्दै आएको छ । संस्कृतिलाई सजीव रूपमा प्रदर्शन गरी नवजागरण प्रवाह गर्ने तथा संस्कृति संरक्षण, संवद्र्धन, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने प्रमुख अभिभारा अनुरूप नेपालको पहिचानयुक्त लोकगीत, लोकधून, लोकनृत्य, लोकनाटक तथा समग्र लोकसंस्कृति झल्किने कार्यक्रम उत्पादन, प्रदर्शन तथा दस्तावेजीकरण गर्ने क्रममा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूलमर्म अनुसार बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतामा एकताको भाव सम्प्रेषण गर्न सात प्रदेशका अमूर्त संस्कृतिलाई समान ढंगले प्रदर्शनी गर्दै आफ्नोे ऐतिहासिक विरासत कायम राख्न सांस्कृतिक संस्थान पछिल्लो समय नयाँ शिराबाट अगाडि बढेको छ । 

Messenger_creation_CD286310-5418-4C32-9319-397813C4B349.jpeg

 

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij