सात प्रदेशमा सांस्कृतिक संस्थानको यात्रा : सुर्खेतमा कार्यक्रम सम्पन्न
संस्कृतिका माध्यमबाट नवजागरण प्रवाह गर्ने उद्देश्यकासाथ सांस्कृतिक संस्थानको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सहकार्य, नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको विशेष सहयोगमा सात प्रदेशका प्रदेश, स्थानीय सरकार र सरकारी एवम् गैरसरकारी विभिन्न संघसंस्थासँगको समन्वयमा “सांस्कृतिक पर्यटनका लागि संस्कृति प्रवर्द्धन, संस्कृति प्रवर्द्धनका लागि नवजागरण” भन्ने श्लोकनकासाथ महाकवि लक्ष्मीप्रसाद देवकोटा कृत ऐतिहासिक गीति नाटक मुनामदन र घटना दर्ता विशेष सचेतना नाटक सहित नेपाली संस्कृतिको प्रवर्द्धनका लागि जागरणमूलक सांस्कृतिक कार्यक्रम “नेपाली संस्कृति” लिएर सांस्कृतिक संस्थान हाल सात प्रदेशको यात्रामा रहेको छ । यसै क्रममा कर्णाली प्रदेशका लागि वीरेन्द्रनगर, सुर्खेतमा मिति २०८२ वैशाख १४ गते आइतबारका दिन कार्यक्रम “नेपाली संस्कृति” सभ्यभव्य रूपमा सम्पन्न गरिएको छ ।
कर्णाली प्रदेश अन्तर्गत वीरेन्द्रनगर सुर्खेतमा शुभ होटलको हलमा कर्णाली प्रर्देशका सामाजिक विकास मन्त्री माननीय श्री घनश्याम भण्डारीज्यूको प्रमुख आतिथ्यतामा संस्कृति प्रवर्द्धनमूलक कार्यक्रम नेपाली संस्कृति सम्पन्न गरिएको हो । कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको सभाध्यक्षता, संविधान सभा सदस्य तथा कर्णाली प्रदेशका पूर्वमन्त्री माननीय श्री विमला केसी ज्यू, कर्णाली प्रदेश सभा सदस्य माननीय श्री मिलन खड्का रोका ज्यू र जिल्ला समन्वय समितिका प्रमुख श्री गंगाराम सुनारज्यूको विशिष्ट आतिथ्यता, जिल्ला समन्वय समिति उपप्रमुख, विभिन्न नगर प्रमुखहरू, गाउँपालिक अध्यक्षज्यूहरू, वडा अध्यक्षज्यूहरू, अग्रज कलाकारह कुलमान नेपाली लगायत विभिन्न संघसंस्थाका प्रमुखहरूको आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री जगदिश्वर उपाध्याज्यूले स्वागत मन्तव्य राख्नुहुँदै संस्कृति प्रवर्द्धनमूलक तथा जागरणमूलक कार्यक्रमले समाजमा राम्रो प्रभाव पार्नेमा विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि माननीय मन्त्री श्री घनश्याम भण्डारीज्यूले कार्यक्रममा प्रस्तुत भएका लोकनृत्य तथा नाटकको प्रशंसा गर्दै कर्णाली प्रदेशको संस्कृति संरक्षणका निम्ति सांस्कृतिक संस्थानसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा समग्र नेपाली संस्कृति बोकेको ऐतिहासिक गीति नाटक मुनामदन, सचेतनमूलक नाटक व्यक्तिगत घटना दर्ताका अलावा सुर्खेतको मौलिक झ्याउरे नृत्य र टप्पा नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले विशेष सम्बोधन राख्नु भएको थियो । उहाँले कार्यक्रमको उद्देश्य प्रष्ट पार्नुभएको थियो । सिर्जनशील कला मार्फत नेपाली संस्कृति प्रवर्द्धन तथा समाजमा नवजागरण प्रवाह गरी सांस्कृतिक पर्यटनको विकाससँगै संस्कृतिबाटै समृद्धिको आधार निर्माण गर्ने उद्देश्यले यो कार्यक्रम सात प्रदेशमा प्रदर्शनको यात्रा थालनी गरिएको तर्फ जोड दिँदै कर्णाली प्रदेश मूर्त, अमूर्त सांस्कृतिक सम्पदाको धनी प्रदेश भएकाले कर्णालीजस्तो स्वर्गझैँ ठाउँमा अमूर्त र मूर्त सांस्कृतिक सम्पदालाई दक्ष सिर्जनशील युवा जनशक्तिबाट सही ढंगले उत्पादनमैत्री क्रियाकलापमा जोड्ने हो भने सबैभन्दा पहिले संस्कृतिबाटै कर्णाली समृद्ध बन्ने बताउनु भयो । सांस्कृतिक पर्यटनका लागि कर्णाली उपयुक्त गन्तव्य भएकाले कर्णालीको अस्तित्वको कुरामा, संस्कृतिजस्तो संवेदनशील कुरामा राजनीति नगरौं, कर्णालीको खजाना भौतिक–अभौतिक सांस्कृतिक सम्पदाको सदुपयोगबाट कर्णालीवासीलाई आत्मनिर्भर, स्वरोजगार बनाउने साझा नीति तथा कार्यक्रम निर्माण गर्नतर्फ कर्णाली प्रदेश सरकार लाग्नुपर्ने तर्फ जोड दिनुभयो । नेपाल सरकारको ज्येष्ठ निकाय सांस्कृतिक संस्थान भएकाले कर्णाली प्रदेशको संस्कृति संरक्षणका लागि संस्थानको प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफू कर्णाली प्रदेशको छोरो भएकाले कर्णाली प्रदेशको संस्कृतिप्रति झनै चिन्तन हुने कुरा समेत बताउनु भयो । साथै कार्यक्रम सफल पार्न सहजीकरण गर्ने विभिन्न व्यक्तित्वलाई समेत उहाँले कृतज्ञता प्रकट गर्नुभयो ।
उक्त कार्यक्रममा ऐतिहासिक गीति नाटक मुनामदनमा श्रव्य सामग्रीमा वादन गर्नुहुने सुर्खेतका वरिष्ठ कलाकार श्री प्रेमदेव गिरीज्यूलाई शिष्टाचारको सम्मान गरिएको थियो । साथै पहिलोपटक अभिनय गर्ने दिवंगत भइसक्नुभएका सुर्खेतकै कलाकारद्वय श्री टेकराज भारती ज्यू र श्री गोपाल बस्नेतका परिवारजनलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रम “नेपाली संस्कृति” लाई नयाँ वर्ष २०८२ सालको अवसरमा वैशाख १ गते “शुभारम्भ सांस्कृतिक साँझ २०८२” मार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डेज्यूको हातबाट समुद्घाटन गरी सात प्रदेशको यात्रा गरिएको छ । युवालाई विदेशभन्दा स्वदेशप्रतिको मोह बढाउने सन्देश सम्प्रेषण गर्न वर्तमान नेपालको परिवेश प्रतिविम्बित महाकवि लक्ष्मीप्रसाद देवकाटा कृत लोकप्रिय खण्डकाव्यमा आधारित ‘गीति नाटक मुनामदन’, नेपाली समाजमा विद्यमान व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतनामूलक नाटक, नेपालको पहिचानयुक्त लोकगीत, लोकनृत्य तथा सम्बन्धित स्थानीय तहको मौलिक संस्कृति समेत समेटिने गरी नवजागरणमूलक एवम् सांस्कृतिक पर्यटनमैत्री कार्यक्रम “नेपाली संस्कृति” लाई सांस्कृतिक संस्थानका कलाकारहरूद्वारा सात प्रदेशमा प्रदर्शन गरिएको हो ।
वि.सं.२०१६ सालमा राष्ट्रिय नाचघरको रूपमा स्थापित तथा नाम परिमार्जन सहित वि.सं.२०२९ सालमा पुनर्गठन भएको सांस्कृतिक संस्थान ६५ वर्षीय सांस्कृतिक विरासत कायम राख्न सफल नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ एवम् आधिकारिक निकाय हो । संस्कृति संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने प्रमुख अभिभारा अनुरूप नेपालको पहिचानयुक्त लोकगीत, लोकधून, लोकनृत्य, लोकनाटक तथा समग्र लोकसंस्कृति झल्किने कार्यक्रम उत्पादन, प्रदर्शन तथा दस्तावेजीकरण गर्ने क्रममा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूलमर्म अनुसार बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतामा एकताको भाव सम्प्रेषण गर्न सात प्रदेशका अमूर्त संस्कृतिलाई समान ढंगले प्रदर्शनी गर्दै आफ्नोे ऐतिहासिक विरासत कायम राख्न सांस्कृतिक संस्थान पछिल्लो समय नयाँ शिराबाट अगाडि बढेको छ ।
कार्यक्रम : नेपाली संस्कृति
आयोजक : सांस्कृतिक संस्थान ।
प्रवर्द्धन : नेपाल पर्यटन बोर्ड ।
सहकार्य : नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग ।
विशेष सहयोग : नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय ।
कलाकारहरू : सांस्कृतिक संस्थानका कलाकारहरू ।