सांस्कृतिक संस्थानको प्रस्तुतिमा आज पोखरामा कार्यक्रम हुँदै
संस्कृतिका माध्यमबाट नवजागरण प्रवाह गर्ने उद्देश्यकासाथ सांस्कृतिक संस्थानको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सहकार्य, नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको विशेष सहयोगमा सात प्रदेशका प्रदेश, स्थानीय सरकार र सरकारी एवम् गैरसरकारी विभिन्न संघसंस्थासँगको समन्वयमा “सांस्कृतिक पर्यटनका लागि संस्कृति प्रवर्द्धन, संस्कृति प्रवर्द्धनका लागि नवजागरण” भन्ने श्लोकनकासाथ महाकवि लक्ष्मीप्रसाद देवकोटा कृत ऐतिहासिक गीति नाटक मुनामदन र घटना दर्ता विशेष सचेतना नाटक सहित नेपाली संस्कृतिको प्रवर्द्धनका लागि जागरणमूलक सांस्कृतिक कार्यक्रम “नेपाली संस्कृति” लिएर सांस्कृतिक संस्थान हाल सात प्रदेशको यात्रामा रहेको छ । यसै क्रममा गण्डकी प्रदेशका लागि पोखरास्थित होटल उत्सव हिमालयको हलमा मिति २०८२ वैशाख २७ गते शनिबारका दिन आज कार्यक्रम “नेपाली संस्कृति” हुने भएको छ । उक्त कार्यक्रममा समग्र नेपाली संस्कृति बोकेको ऐतिहासिक गीति नाटक मुनामदन, सचेतनमूलक नाटक व्यक्तिगत घटना दर्ताका अलावा अभौतिक संस्कृति प्रवर्द्धनमूलक मौलिक संस्कृति समेत प्रदर्शनी गरिने भएको छ । कार्यक्रम बिहान ठीक ११ बजे शुभारम्भ गरिने बताइएको छ ।
कार्यक्रम “नेपाली संस्कृति” लाई नयाँ वर्ष २०८२ सालको अवसरमा वैशाख १ गते “शुभारम्भ सांस्कृतिक साँझ २०८२” मार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डेज्यूको हातबाट समुद्घाटन गरी सात प्रदेशको यात्रा गरिएको छ । युवालाई विदेशभन्दा स्वदेशप्रतिको मोह बढाउने सन्देश सम्प्रेषण गर्न वर्तमान नेपालको परिवेश प्रतिविम्बित महाकवि लक्ष्मीप्रसाद देवकाटा कृत लोकप्रिय खण्डकाव्यमा आधारित ‘गीति नाटक मुनामदन’, नेपाली समाजमा विद्यमान व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतनामूलक नाटक, नेपालको पहिचानयुक्त लोकगीत, लोकनृत्य तथा सम्बन्धित स्थानीय तहको मौलिक संस्कृति समेत समेटिने गरी नवजागरणमूलक एवम् सांस्कृतिक पर्यटनमैत्री कार्यक्रम “नेपाली संस्कृति” लाई सांस्कृतिक संस्थानका कलाकारहरूद्वारा वैशाख ५ गतेदेखि प्रारम्भ गरिएको सात प्रदेशको यात्रा अन्य ६ वटा प्रदेशमा सफलतापूर्वक प्रदर्शन गरिसकिएको छ भने गण्डकी प्रदेशको पोखरामा प्रदर्शनी गरिने यस कार्यक्रम सात प्रदेशका लागि अन्तिम कार्यक्रम हो ।
वि.सं.२०१६ सालमा राष्ट्रिय नाचघरको रूपमा स्थापित तथा नाम परिमार्जन सहित वि.सं.२०२९ सालमा पुनर्गठन भएको सांस्कृतिक संस्थान ६५ वर्षीय सांस्कृतिक विरासत कायम राख्न सफल नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ एवम् आधिकारिक निकाय हो । संस्कृति संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने प्रमुख अभिभारा अनुरूप नेपालको पहिचानयुक्त लोकगीत, लोकधून, लोकनृत्य, लोकनाटक तथा समग्र लोकसंस्कृति झल्किने कार्यक्रम उत्पादन, प्रदर्शन तथा दस्तावेजीकरण गर्ने क्रममा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूलमर्म अनुसार बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतामा एकताको भाव सम्प्रेषण गर्न सात प्रदेशका अमूर्त संस्कृतिलाई समान ढंगले प्रदर्शनी गर्दै आफ्नोे ऐतिहासिक विरासत कायम राख्न वर्तमान महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको कुशल नेतृत्वमा सांस्कृतिक संस्थान पछिल्लो समय नयाँ शिराबाट अगाडि बढेको छ । कार्यक्रम “नेपाली संस्कृति” लाई आगामी दिनमा राष्ट्रिय रूपमा देशैभरीका सम्पूर्ण जिल्ला, विभिन्न स्थानहरू तथा नियमित संस्थानको मेगा प्रेक्षालयमा साथै अन्तर्राष्ट्रियस्तरसम्म पनि प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।
कार्यक्रम : नेपाली संस्कृति
आयोजक : सांस्कृतिक संस्थान ।
प्रवद्र्धक : नेपाल पर्यटन बोर्ड ।
सहकार्य : नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग ।
विशेष सहयोग : नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय ।
कलाकारहरू : सांस्कृतिक संस्थानका कलाकारहरू ।