२५६९ औं बुद्ध जयन्तीको शुभकामना

२५६९ औं बुद्ध जयन्तीको शुभकामना


२५६९ औं बुद्ध जयन्तीको शुभकामना


हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बौद्ध दर्शनका प्रवर्तक एवम् विश्व शान्तिका अग्रदूत महामानव गौतम बुद्धको जन्म जयन्ती मनाइन्छ । गौतम बुद्धले विश्व शान्ति स्थापनाका लागि पुर्याएको  योगदानको स्मरण स्वरूप पर्वका रूपमा मनाउने गरिन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाल लगायत विश्वभरी बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् । 


नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता भित्र एकता भएको राष्ट्र हो । नेपाली संस्कृति भित्रको अभिन्न अंगको रूपमा विकास भएको बौद्ध दर्शनलाई विश्वभरीका जनमानसले अंगीकार गरेका छन् । पिता शुद्धोधन र माता मायादेवीको गर्भबाट नेपालको लुम्बिनीमा गौतम बुद्धको जन्म भएको हो । नेपालको भूमिमा जन्मिएर मानव कल्याणका लागि ठूलो योगदान दिनुहुने गौतम बुद्धका उपदेशहरू विश्वमै लोकप्रिय छन् । बुद्धका उपदेश र मार्गदर्शनलाई शिरोपर गरी अगाडि बढ्नसके हर मानवलाई सभ्य एवम् सुसंस्कृत बन्न प्रेरित गर्दछ । 
बौद्ध धर्मावलम्बीले गुम्बा लगायतका स्थलमा बौद्ध धर्म गुरु बसेर परम्परागत पूजा सम्पन्न गरी बुद्ध जयन्ती मनाउने गरिन्छ । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्ध लगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा पनि रहेको छ ।


सभ्य संस्कृति समाजमा सम्प्रेषण गर्न प्रेरित गर्ने बौद्ध दर्शनलाई उच्च सम्मान गर्दै बुद्ध जयन्तीलाई नेपालको राष्ट्रिय पहिचानयुक्त पर्वका रूपमा संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थान सदा प्रतिबद्ध छ । बुद्ध जयन्तीले नेपालीहरू बीच आपसी सद्भाव, राष्ट्रिय एकताको भावना सहितको सभ्य संस्कृति अभिवृद्धि गर्न सकोस् भन्ने शुभेच्छा सहित २५६९ औं बुद्ध जयन्तीको शुभकामना व्यक्त गर्दछु ।

२९ वैशाख २०८२                                                  किरण बाबु पुन
ने.सं. १४४५ बछलाथ्व पुन्हि                                          महाप्रबन्धक

 

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij