उभौली पर्वको शुभकामना
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता भित्र एकता भएको देश भएकाले अनेकतामा एकताको अलौकिक स¨म संस्कृति मार्फत झल्किन्छ । हरेक जातजातिका आ–आफ्नै मौलिक संस्कृतिले जातीय पहिचानलाई स्थापित गर्दै राष्ट्रको सांस्कृतिक सौन्दर्य एवम् गरिमालाई उजागर गरेको छ । सांस्कृतिक चाडपर्वले समाजलाई प्राचीनकालदेखि सत्मार्ग तर्फ डोेर्याउँदै ल्याएको पाइन्छ । चाडपर्वले नै राष्ट्रिय एकताको सन्देश प्रवाह गर्न ठूलो भूमिका निर्वाह गर्दछ । प्रत्येक चाडपर्वसँग जोडिएका किंवदन्ती, मिथक एवम् पौराणिक कथाहरूले हाम्रो जीवन सुखी र हितकर बनाउने सन्देश दिने गर्दछ । संस्कृतिलाई जीवन्त राख्ने माध्यम नै चाडपर्व हुन् ।
किरात राई समुदायको महान् सांस्कृतिक पर्वका रूपमा उभौली पर्वलाई मानिन्छ । प्रकृति पूजक किरात राई समुदायले गर्मी समय सुरु भएपछि गर्मी छल्न लेक चढ्ने क्रममा आफ्ना पितृहरूको सम्झना स्वरूप यस पर्व मनाउने चलन छ । किराती मान्यता अनुसार ६÷६ महिनामा ऋतु परिवर्तन हुने तथा ६ महिना लेक र ६ महिना बेसी बस्ने भन्ने किंवदन्ती समेत रहेको पाइन्छ । अन्नबाली लगाउने बेलाको उभौली र भित्र्याउने बेलाको उधौली गरी वर्षमा दुई पटक साकेला (उभौली उधौली) मनाउने गरिन्छ । वैशाख शुक्ल पूर्णिमाको अवसरमा मनाइने उभौली साकेलालाई १५ दिनसम्म ढोल, झ्याम्टाकासाथ साकेला नाच्दै धुमधामसँग अन्नबाली लगाउने अवसर पारेर मनाइन्छ । मानो रोपेर मुरी उब्जाउने समय सुरु भएकाले लगाइएका बालीनालीहरूमा दैवी विपत्ति नआओस् भन्ने कामना सहित प्रकृतिको पूजा गरी विधिवत् ढंगले मौलिक संस्कृति अनुसार उभौली पर्व मनाउने चलन छ ।
जाति नरहे संस्कृति रहन्न, संस्कृति नरहे देश रहन्न, देशै नरहे हामी रहन्नौं । तसर्थ हरजातिका सांस्कृतिक चाडपर्वहरूको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थान सदा प्रतिबद्ध छ । उभौली पर्वको अवसरमा यस पर्वले नेपालीहरू बीच आपसी सद्भाव तथा राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न सकोस् भन्ने शुभेच्छा प्रकट गर्दै मौलिक पहिचान, अस्तित्व सहितको संस्कृति झल्किने गरी सभ्य रूपमा यस पर्व मनाउने सबैमा प्रेरणा मिलोस् भन्ने कामना सहित उभौली पर्व २०८२ को शुभकामना व्यक्त गर्दछु ।
२९ वैशाख २०८२ किरण बाबु पुन
ने.सं. १४४५ बछलाथ्व पुन्हि महाप्रबन्धक