“नेपाली उपशास्त्रीय सङ्गीत समारोह २०८२” भव्यताकासाथ सम्पन्न
नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानद्वारा नेपाली संस्कृति भित्रको सिर्जनशील कला अन्तर्गतका हरेक विधाहरूलाई समान रूपमा विकास गर्ने उद्देश्यकासाथ मिति २०८२ जेठ १२ गते संस्थानको मिनी प्रेक्षालयमा आयोजना गरेको लोक तथा शास्त्रीय सङ्गीत सङ्गम कार्यक्रम “नेपाली उपशास्त्रीय सङ्गीत समारोह २०८२” सभ्यभव्य रूपमा सम्पन्न भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान शास्त्रीय तथा परम्परागत सङ्गीत विभाग प्रमुख प्राज्ञ श्री डक्टर किरातज्यूको प्रमुख आतिथ्यतामा नेपाली सङ्गीत जगतका विशिष्ट व्यक्तित्वहरूको आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
सांस्कृतिक संस्थानका कलाकारहरूदेखि नेपाली शास्त्रीय सङ्गीतका धरोहरहरू श्री संगीता राना प्रधान ज्यू, श्री डा.रमेश पोखरेल ज्यू, श्री श्री केसी ज्यू, श्री वाणिका प्रधान ज्यू, श्री जलजला परियार ज्यू लगायतले प्रस्तुति दिनु भएको थियो । उहाँहरूलाई नेपाली सङ्गीत क्षेत्रका कुशल वाद्यवादकज्यूहरूले संगतमा साथ दिनुभएको थियो ।
यस वर्ष दिवंगत हुनुभएका संस्थानका कलाकार तथा अन्य स्रष्टाहरुको सम्झनामा १ मिनेट मौन धारण गरी कार्यक्रमको प्रारम्भ गरिएको थियो । त्रिभुवन विश्वविद्यालय, ललितकला क्याम्पसका सहप्राध्यापक समेत रहनु भएका श्री डा.रमेश पोखरेलज्यूले नेपाली उपशास्त्रीय सङ्गीतको वर्तमान अवस्था सम्बन्धी कार्यपत्र { Link : nepal ma upshastriya sangeet ko abastha, karyapatra.pdf :To download file click here } प्रस्तुतीकरणसँगै प्रस्तुतीजन्य कार्यक्रम सुरुवात गरिएको थियो । संस्थानका कलाकारद्वारा नेपाली उपशास्त्रीय सङ्गीत सम्बन्धी धून र गायन प्रस्तुति गरिएको थियो । सङ्गीत गुरुआमा एवम् नेपाली उपशास्त्रीय सङ्गीतका लागि ठुमरी गायनमा रानीका रूपमा परिचित श्री संगीता राना प्रधानज्यूले ठुमरी र दादरा प्रस्तुत गर्नुभएको थियो । सङ्गीतका महान् गुरु श्री श्री केसीज्यूले संयोजन गर्नुभएको राग झिंझोटीमा आधारित नेपाली मौलिक थारु लोकगीत श्री वाणिका प्रधान ज्यू र श्री जलजला परियारज्यूले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै सङ्गीतका महान् गुरु श्री डा.रमेश पोखरेलज्यूले नेपाली उपशास्त्रीय सङ्गीतका विभिन्न विधाहरूलाई प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले स्वागत मन्तव्य दिनुहुँदै भन्नुभयो :–
संस्कृति सोच हो चिन्तन हो अनुशासन हो जन्मदेखि मृत्युसम्मका मानवजातिले अंगीकार गर्ने सम्पूर्ण क्रियाकलाप नै संस्कृति हो । संस्कृतिलाई नीतिगत ढंगले मार्गनिर्देशन गर्ने काम शास्त्रले गर्छ । हो, यही शास्त्रमा आधारित भएर प्रस्तुत गरिने सङ्गीतलाई शास्त्रीय सङ्गीत भनिन्छ । शास्त्रमा बाँधिएको शास्त्रीय सङ्गीतले मानवजातिलाई सही संस्कृति सिकाउँछ । चाहे लोक, चाहे सुगम, चाहे शास्त्रीय विधा किन नहोस् सबै विधालाई एकीकृत गरी “नेपाली सङ्गीत विधा”को रूपमा ग्रहण गर्न सक्ने संस्कृतिको विकास गर्नु आजको आवश्यकता हो ।
कलाकारको प्रमुख समस्या नीतिगत हो । हामी नीतिगत हिसाबले अघि बढ्न नसक्दा पछि परेका छौँ । हामी कलाकार भन्ने नचाहिँदो क्षणिक मान मर्यादामा अभ्यस्त हुने प्रवृत्तिका कारण उपभोग्य साधनको रूपमा आजसम्म प्रयोग भएका छौँ । कृपया संकीर्ण सोचबाट माथि उठौँ । संस्कृति भित्रको उच्चकोटिको अंग कला र कलालाई पूजन गर्ने कलाकार सर्वप्रथम नीतिगत स्पष्ट, सभ्य, सुसंस्कृत भई कला सम्बन्धी स्पष्ट राज्यनीतिका लागि सामूहिक आवाज आजको आवश्यकता हो ।
संसारमा मरेर पनि सजीव हुने प्राणी सिर्जनशील कला भएको मानव हो, ऊ उसको कृतिको माध्यमबाट अमर बन्छ, उसको कृतिको माध्यमबाट सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा ठूलो योगदान रहन्छ । नेपाली उपशास्त्रीय संगीतमा पनि त्यस्तो कृतिको खाँचो छ जसका माध्यमबाट नेपाली संगीतका हरेक विधालाई ऐक्यबद्ध गर्ने सूत्र बनोस् । त्यसैको आधार निर्माण गर्न आज यो कार्यक्रम संस्थानको नीति तथा कार्यक्रम अन्तर्गत समायोजन गरी आयोजना गरिएको छ ।
उपशास्त्रीय संगीत (अर्धशास्त्रीय संगीत) भनेको शास्त्रीय संगीत र लोक संगीत संयोजन हो । उपशास्त्रीय संगीतमा ठुमरी, टप्पा, होरी, दादरा, कजरी, चैती आदि समावेश पाइन्छ । जहाँ ठुमरी लोक सङ्गीतको एक संशोधित रूप हो तथा उपशास्त्रीय सङ्गीतको प्रमुख लोकप्रिय विधा हो । त्यसकारण पनि मैले भन्दै पनि आएको छु कि नेपाली शास्त्रीय सङ्गीतको विकासका लागि नेपाल जस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्रमा अनगिन्ती नेपाली लोकगीतलाई ठुमरीका रूपमा विकास गर्नु आधारभूत शर्त हो । हाम्रो उद्देश्य नेपालीपन भएको, नेपालीहरूले आफ्नोपनको आभास गर्नसक्ने नेपाली उपशास्त्रीय संगीतको खोजी र विकास गर्नु हो । साथै लोक, सुगम, शास्त्रीय विधामा देखिएका मतभेदलाई जरैदेखि उखेल्न ओखतीको रूपमा नेपाली उपशास्त्रीय संगीतलाई निर्माण गर्नु पनि हो । यति सानो शास्त्रीय सङ्गीतको क्षेत्र र त्यसलाई पूजन गर्ने हामी बीच मतभेद र हाम्रो टुक्रे नीतिले नेपाली शास्त्रीय सङ्गीत विकास हुन सक्दैन । त्यसैले आजका प्रमुख अतिथि नेपाल सरकारको जिम्मेवार निकायको शास्त्रीय सङ्गीत सम्बन्धी विभाग प्रमुख भएको नाताले र सम्पूर्ण यहाँ उपस्थित अत्यन्तै सम्मानित व्यक्ति भएकाले म आह्वान गर्न चाहन्छु कि नेपालीपन सहितको शास्त्रीय सङ्गीत विकासका लागि हामी साझा आवाज, साझा नीति लिएर अघि बढौं । यस्तै नयाँ नीति तथा कार्यक्रम निर्माण गर्नेतर्फ विशेष चिन्तन रहने प्रतिबद्धता सहित सम्पूर्णलाई स्वागत सहित आभार प्रकट गर्दछु ।
कार्यक्रममा प्रमुख अतिथि श्री डक्टर किरातज्यूले नेपाली उपशास्त्रीय सङ्गीतका लागि यो नेपालकै इतिहासमा नयाँ कार्यक्रम भएकोतर्फ जोड दिँदै यसलाई विकास गर्न ऐक्यबद्धता प्रकट गर्नुभयो । साथै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान शास्त्रीय तथा परम्परागत सङ्गीत विभागले नेपाली शास्त्रीय सङ्गीत विकासका लागि नयाँ नयाँ नीतिबाट अगाडि बढ्नेतर्फ अग्रसर रहेको बताउँदै संस्थानसँग सहकार्यका नीति तथा कार्यक्रम तर्जुमा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । यस कार्यक्रम मार्फत नेपालीपन भएका उपशास्त्रीय सङ्गीतको संरक्षणका लागि केही गर्नुपर्ने भावना जागृत गराएको समेत बताउनु भयो ।
कार्यक्रम प्रस्तुतिका क्रममा श्री संगीता राना प्रधान ज्यू, श्री डा.रमेश पोखरेल ज्यू, श्री श्री केसी ज्यू, श्री गोकुल लिम्बु लगायत सङ्गीत क्षेत्रका विद्वानहरूको साझा धारणा वर्षौंदेखिको सपना यस कार्यक्रमले साकार भएको तथा एक नयाँ साङ्गीतिक युगको सुरुवात भएकोतर्फ जोड दिँदै महाप्रबन्धक श्री किरण बाबु पुनज्यूलाई नेपाली सङ्गीत जगतमा एकताको भावना अभिवृद्धि कार्यक्रमको नीति बनाएकोमा हार्दिक आभार प्रकट गर्नुभएको थियो । कार्यक्रम समापन गर्दै महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले सबैप्रति आभार प्रकट गर्दै जतिसुकै बाधा अड्चन आएपनि त्यसको सामना गर्दै नयाँ नयाँ सिर्जनशील क्रियाकलापका नीति तथा कार्यक्रम आगामी दिनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि सम्पूर्ण साङ्गीतिक क्षेत्रका विद्वानहरूको साथ सपोर्टको अपेक्षा व्यक्त गर्नु भयो । कार्यक्रम सञ्चालन संस्थानका वाद्यवादन अधिकृत श्री दुर्गा प्रसाद खतिवडा ज्यू र संस्थानका कलाकार श्री विपिन घिमिरेज्यूले गर्नु भएको थियो । कार्यक्रममा उपस्थित सङ्गीतका साधकहरू तथा सम्पूर्ण व्यक्तित्वहरूले कार्यक्रम नयाँपन र उत्कृष्ट भएको धारणा व्यक्त गर्नु भएको थियो ।