७२ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम भव्य रूपमा सम्पन्न
विश्वको सर्वोच्च शिखर सगरमाथा प्रथमपटक आरोहण गरेको दिन मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा विविध कार्यक्रम गरी प्रत्येक वर्ष मनाउने गरिन्छ । यस वर्ष पनि सन् २०२५ मे २९ (२०८२ जेठ १५ गते) का दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन माननीय मन्त्री श्री बद्री प्रसाद पाण्डेज्यूको अध्यक्षताको अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल समारोह समितिले प्रभातफेरी कार्यक्रम आयोजना गरी ७२ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस भव्य रूपमा भनाएको छ । बिहान ७ बजे कर्मचारी सञ्चय कोषको कार्यालय, ठमेल देखि सुरु भएको झाँकी हनुमानढोका दरबार स्क्वायरसम्म पुगी कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा मन्त्रालयका कर्मचारीहरू, मन्त्रालय अन्तरनिकायका कर्मचारीहरू तथा पर्यटन सम्बन्धी निकायका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई माननीय मन्त्री श्री बद्री प्रसाद पाण्डेज्यूले विशेष सम्बोधन गर्नुहुँदै विश्वको सर्वोच्च शिखर सगरमाथाले नेपाल र नेपालीको पहिचान विश्वसामु उजागर गरेकाले यसको गरिमा थप विस्तार गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै प्रथमपटक आरोहण गर्ने आरोहीहरू, धेरैपटक आरोहण गर्ने आरोहीहरू तथा अक्सिजन बिना नै आरोहण गरेर कीर्तिमान राख्नुहुने व्यक्तित्वहरू प्रति उच्च सम्मान व्यक्त गर्नुभयो । सगरमाथा आरोहणलाई थप व्यवस्थित गर्न मन्त्रालयको तर्फबाट नयाँ कदम चाल्ने समेत प्रतिबद्धता व्यक्त गर्नुहुँदै कार्यक्रम सफल पार्न उपस्थित सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गर्दै ७२ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन सहित सम्पूर्ण शाखा प्रमुखहरू एवम् कर्मचारीहरूको उपस्थित रहेको थियो । नेपालको अस्तित्व विश्वसामु कायम राख्ने सांस्कृतिक सम्पदा विश्वको सर्वोच्च शिखर सगरमाथाको सांस्कृतिक गरिमालाई संरक्षण तथा प्रवर्द्धनका लागि सांस्कृतिक संस्थान सदा प्रतिबद्ध छ । सांस्कृतिक संस्थानको तर्फबाट ७२ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको शुभकामना ।