माननीय संस्कृति मन्त्रीज्यूबाट “भूमे पर्व २०८२” भव्य रूपमा समुद्घाटन

माननीय संस्कृति मन्त्रीज्यूबाट “भूमे पर्व २०८२” भव्य रूपमा समुद्घाटन


माननीय संस्कृति मन्त्रीज्यूबाट “भूमे पर्व २०८२” भव्य रूपमा समुद्घाटन

मगर समुदायका थुप्रै मौलिक सांस्कृतिक पर्वहरू पाइन्छन् । मगर जातिको ऐतिहासिक पृष्ठभूमि बोकेको मौलिक सांस्कृतिक चाड भूमे पर्व हो । असार १ गतेबाट विधिवत शुभारम्भ भई यो पर्व स्थान विशेष चलन अनुसार धेरै दिनसम्म मनाउने प्रचलन रहेको छ । काठमाडौँमा वर्षौंदेखि भूमे पर्व संरक्षण नेपालको आयोजना तथा नेपाल मगर संघको संरक्षकत्वमा ३ दिनसम्म भूमे पर्व मनाउने प्रचलन रहेको छ । यसै अनुरूप भूमे पर्व २०८२ नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डेज्यूको प्रमुख आतिथ्यतामा हजारौं मगर समुदायको सहभागितामा भव्य रूपमा समुद्घाटन गरिएको छ । उक्त कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री मा.श्री खम बहादुर गर्बुजा ज्यू, सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू लगायतको विशिष्ट आतिथ्यता रहेको थियो भने सभाध्यक्षता भूमे पर्व संरक्षण नेपालका अध्यक्ष श्री बागलाल बुढा मगर ज्यू र संरक्षकत्व आतिथ्यता आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव तथा नेपाल मगर संघका अध्यक्ष श्री ज्ञानेन्द्र पुन मगरज्यूको रहेको थियो । 

bhume-puja-badri-pandey_Y8brtOdcrh.jpg

IMG-20250615-WA0002.jpg

कार्यक्रममा स्वागत मन्तव्य भूमे पर्व संरक्षण नेपालका उपाध्यक्ष श्री हर्क घर्ती मगरज्यूको रहेको थियो । स्वागत नृत्य स्वरूप नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत सांस्कृतिक संस्थानका कलाकारद्वारा मौलिक बनगारी टप्पा नृत्य प्रस्तुत गर्नुभएको थियोे । भूमे पर्व संरक्षण नेपालका अध्यक्ष श्री बागलाल बुढा मगरले भूमे पर्वलाई राष्ट्रिय पर्वका रूपमा नेपाल सरकारको वार्षिक क्यालेण्डरमा समावेश गर्नुपर्ने, असार १ गते बिदा दिनुपर्ने तथा अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणका लागि भूमे पर्व मन्त्रालयमा दर्ता भएकाले यथाशीघ्र सूचीकरण गरिनुपर्ने माग सहित प्रमुख अतिथि माननीय मन्त्रीज्यूलाई ज्ञापन पत्र बुझाउनु भएको थियो ।

IMG-20250615-WA0019.jpg

कार्यक्रमका प्रमुख अतिथि माननीय मन्त्री श्री बद्री प्रसाद पाण्डेज्यूले मन्तव्य राख्नुहुँदै जलवायु परिवर्तनका कारण पृथ्वी नै खतरामा परेको बेला भूमी पूजन गरी पृथ्वी र मानवजीवनको भलो कामना गर्ने मिथकसँग जोडिएको भूमे पर्व आफैमा महत्त्वपूर्ण एवम् वैज्ञानिक रहेको बताउनु भयो । उहाँले भूमे पर्व संरक्षण नेपालले ज्ञापन पत्र मार्फत् राख्नुभएका मागलाई सम्बोधनका लागि विशेष पहल हुने बताउनु भयो । अभौतिक सांस्कृतिक सम्पदामा सूचीकरण र नेपाल सरकारको वार्षिक क्यालेण्डरमा समावेश गर्न शत प्रतिशत आफ्नो भूमिका रहने तथा बिदा बारे भूमे पर्व संरक्षण नेपालसँग छलफल गरी कार्यान्वयन गर्ने, नगर्ने टुंगो लाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । भूमे पर्वको विशेष पक्ष बुकी टिप्ने सम्बन्धी धारणामा रुकुमको लुगुमबाट विधिवत बुकी टिपी काठमाडौँसम्म ल्याई मौलिक संस्कृतिको रक्षा गर्न तत्पर मगर समुदायलाई आभार प्रकट गर्दै नेपालको पहिचानसँग जोडिएका यस्ता खालका सांस्कृतिक पर्वको रक्षाका लागि संस्कृति सम्बन्धी अभिभावकीय मन्त्री भएको नाताले आफ्नो विशेष पहल हुने बताउनु भयो । सांस्कृतिक संस्थानले आफ्ना नीति तथा कार्यक्रम मार्फत् मौलिक सांस्कृतिक पर्वहरूको संरक्षण तथा प्रवर्द्धनका लागि खेलेको भूमिकाको प्रशंसा गर्दै यस कार्यलाई निरन्तरता दिनका लागि मार्गनिर्देशन समेत दिनु भयो । माननीय मन्त्रीज्यूबाट दमाह बजाएर भूमे पर्वको समुद्घाटन तथा भूमे नाचको समेत स्वयं नाचेर समुद्घाटन गर्नुभएको थियो । साथै मौलिक संस्कृति अनुसार माननीय मन्त्रीज्यूले भूमे पूजा समेत गर्नु भएको थियो । bhume-puja5_yB4VYnWm6p.jpg

IMG-20250615-WA0013.jpg

सांस्कृतिक संस्थानका कार्यक्रम तथा योजना शाखा संयोजक श्री रेखा कुमारी कटुवालज्यूको संयोजकत्वमा नृत्य शाखा संयोजक श्री माया थापा ज्यूको निर्देशनमा संस्थानका कलाकारहरु श्री तिर्थराज पोख्रेल ज्यू, श्री दिपेन्द्र बज्राचार्य ज्यू, श्री शिला विष्ट ज्यू, श्री विपिन घिमिरे ज्यू, श्री राधिका भण्डारीज्यूले प्रत्यक्ष गाउनु भएको थियो भने श्री सुशिला थापा ज्यू, श्री शेखर घर्ती ज्यू, श्री अक्कल बहादुर पाख्रिन ज्यू र श्री विना विश्वकर्माज्यूको नृत्य रहेको  थियो । कार्यक्रम उद्घोषण श्री हरि पुन मगरले गर्नुभएको थियो । कार्यक्रममा संस्थानका तर्फबाट संस्थानका कलाकार सेवा र प्रशासन सेवाका थुप्रै कर्मचारीहरुको सहभागिता रहेको थियो ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता भित्र एकता भएको देश नेपालको पहिचान र राष्ट्रिय एकताको सन्देश विशेषगरी जातीय संस्कृति मार्फत प्रवाह हुने गर्दछ । आदिवासी जनजातिहरूमा जनसंख्याको हिसाबले पहिलो स्थानमा रहेको मगर समुदाय संस्कृतिको हिसाबले पनि अत्यन्तै समृद्ध छ । मगर समुदायका आफ्नै मौलिक कला, भाषा, संस्कार, रीतिरिवाज, चाडपर्व, भेषभूषा, मूल्यमान्यता, रीतिथिति, मौखिक परम्परा, मौलिक खानपान, मौलिक खेलकुद जस्ता अनेकन् मौलिकपन भएका विविधतायुक्त अभौतिक संस्कृति रहेका छन् । 

Bhume-Pooja_magar--community_-596-ink-1749984468.jpeg
भूमे पर्वलाई मगर खाम भाषामा भूम्या, नाम्क, बल्क, नोगोबाङ्गे, भल्क, बलपूजा, ज्यामकरी, भूमि जस्ता थुप्रै नामबाट भूगोल अनुसार सम्बोधन गरिनुले पनि एउटै जातिको सांस्कृतिक मूल्यमान्यतामा विविधता भित्रको एकताको विशिष्ट रूपलाई पुष्टि गर्छ । यो पर्व मनाउने स्थानमा विशेषगरी केन्द्रबिन्दू अठार मगरात क्षेत्रको रुकुम पूर्व, रूकुम पश्चिम, रोल्पा, बागलुङ आदि स्थान हो भने हाल मगर समुदाय बसोबास गर्ने देशैभरीका स्थानहरूमा भूमि–प्रकृतिको विधिवत् रूपमा पूजा गरी प्राकृतिक दैवी प्रकोप नआओस्, अनिकाल नहोस्, दु:ख कष्ट नहोस्, पृथ्वीका प्राणीको भलो होस् भनी कामना सहित असार १ गतेदेखि विधिवत रूपमा यो पर्व मनाइन्छ । मगर समुदाय एउटा यस्तो समुदाय हो जहाँ आफैमा जातीय विविधताभित्र एकता पाइन्छ । बाह्र मगरात क्षेत्र, अठार मगरात क्षेत्र र काइके मगरात क्षेत्र गरी तीनवटा मगरात क्षेत्रहरूमा मगर समुदायलाई प्राचीनकालदेखि वर्गीकरण गरिएको पाइन्छ । यी तीन क्षेत्रहरूमा मगर समुदायका मौलिक पहिचानयुक्त विविध अभौतिक सांस्कृतिक सम्पदाहरू पाइन्छन् । बाह्र मगरात क्षेत्र, अठार मगरात क्षेत्र, काइके मगरात क्षेत्र भन्नु नै मगर समुदायको सांस्कृतिक सौन्दर्य भएको कुरा वरिष्ठ संस्कृतिविद् माननीय श्री बमकुमारी बुढामगरज्यूका थुप्रै लेखहरूमा उल्लेख गरेको पाइन्छ । 

Bhume-Pooja_magar--community_-587-ink-1749984464.jpeg

भूमे पर्वको अवसरमा भूमे नाच विधिवत् तरिकाले नाचिन्छ । सयौंको संख्यामा महिला र पुरुष सहभागी भई गोलो घेरामा दमाह, ट्याम्की, सनाई, झ्याली, पैजन आदि मौलिक बाजाको तालमा मगरका जन्मदेखि मृत्युसम्मका क्रियाकलापहरूलाई प्रदर्शन गर्दै २२ चालामा भूमे नाच प्रस्तुत गर्छन् । जल जमिन र आकाशको अनुष्ठान गरी भूमि देउतालाई दाइना पारेको अवसरमा खुशी भएर यो नाच नाचिन्छ । बर्खे याममा हुने अनेकौं महामारी, बाढी, पहिरो, अनिकाल तथा सामाजिक बैरभावको अन्त भई मानव जाति सुरक्षित रहने विश्वासका साथ यो नाच नाच्ने गरिन्छ । विशेष अनुष्ठानबाट भूमि थाम्न सफल भएको मान्यता अनुरूप हर्षोल्लासका साथ भूमि पुजासँगै भूमे नाचको आरम्भ हुन्छ । 

Bhume-parba-khulamanch-5-1024x683.jpg

भूमे पर्वसँग थुप्रै मिथकहरू जोडिएको पाइन्छन् । यस पर्वमा बुकी पूmल टिप्न जाने मौलिक संस्कृति रहेको छ । भूमे पर्वले सामाजिक तथा सांस्कृतिक महत्त्व बोकेको पाइन्छ । भूमि अनुष्ठानलाई उल्लासमय बनाउन अहम भूमिका खेलेको छ । यस पर्वले मानिसलाई एकै ठाउँमा भेला हुने अवसर सृजना गरेको छ । मानिसहरू बीच सद्भाव बाँड्न प्रेरणा दिएको छ । नयाँ पुस्ताका युवा–युवतीहरूमा संस्कृतिप्रतिको भावना साटासाट गर्ने विधि र संस्कार सिकाएको छ । समाजमा मर्यादा र अनुशासित व्यवहार निर्माणमा सघाउ पुर्याई राष्ट्रिय एकताको भावना अभिवृद्धि गराएको छ । मगर समुदायको मौलिक सांस्कृतिक पर्व मात्र नभई भूमे पर्व यो राष्ट्रको एउटा सुन्दर अमूर्त सांस्कृतिक सम्पदा हो । मगर समुदायले नेपाल सरकारबाट राष्ट्रिय पर्वका रूपमा भूमे पर्वलाई सम्बोधन गरी असार १ गते बिदा माग गर्दै आइरहेको छ । 

bhume-nach-2.webp
चाहे गौरा पर्व होस्, चाहे साकेला (उधौली,उभौली) पर्व होस्, चाहे गाईजात्रा पर्व होस्, चाहे ल्होसार पर्व हुन्, चाहे माघे सकराती पर्व होस् सबै नेपाली मौलिक सांस्कृतिक पर्वहरूको संरक्षण तथा प्रवर्द्धनका लागि मा.मन्त्रीज्यूको असल अभिभावकत्वमा सांस्कृतिक संस्थानले आफ्ना नीति तथा कार्यक्रम समावेश गरी अगाडि बढेको छ । सांस्कृतिक पर्यटनको विकासका लागि मौलिक सांस्कृतिक पर्वहरुको संरक्षण आधारभूत शर्त भएकाले यस्ता पर्वहरुको संरक्षणका लागि संस्थानले नीति तथा कार्यक्रम तय गरिएको तथा  भूमे पर्व पनि संस्थानको नीति तथा कार्यक्रम अन्तर्गत समेटिएको मौलिक सांस्कृतिक पर्व हो । यसकारण यस पर्वलाई मौलिक संस्कृति अनुरूप मनाउन सांस्कृतिक संस्थानको सहकार्य रहेको कुरा महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले बताउनु भयो ।

IMG-20250615-WA0015.jpg

IMG-20250615-WA0011.jpg

IMG-20250615-WA0008.jpg

 

 

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij