
















कार्यक्रममा प्रमुख अतिथि माननीय मन्त्री श्री बद्री प्रसाद पाण्डेज्यूले विभिन्न समस्याले ग्रस्त भएको संस्थान पछिल्लो समय प्रगति पथमा लम्किएकाले यो गतिलाई निरन्तरता दिनुपर्ने बताउनु भयो । आफूले अभिभावकीय मन्त्रीको नाताले अभिभावकत्व ग्रहण गरेसँगै संस्थानको सुरुका कार्यक्रम र पछिल्लो समयका कार्यक्रमहरूमा तुलना गर्ने हो भने कार्यक्रमको गुणस्तर बढ्दै गएको छ । संस्थानको वार्षिक प्रगति प्रतिवेदनबाट आफू सन्तुष्ट रहेको, संस्थानको आ.व.२०८१/८२ मा ६९.४७ प्रतिशत आयमा वृद्धि भएकोमा खुशी व्यक्त गर्दै यसबाट देशभरका संस्थानहरूले पाठ सिक्नुपर्ने बताउनु भयो । सांस्कृतिक संस्थान राष्ट्रिय सम्मान तथा पुरस्कारबाट सम्मानित हुनुहुने सम्पूर्णलाई बधाई ज्ञापन गर्नु भयो । दीर्घ साधना सम्मानबाट सम्मानित हुनुहुने वरिष्ठ संस्कृतिविद् तथा नृत्यशास्त्री श्री भैरव वहादुर थापाज्यूले राख्नु भएका मागलाई सम्बोधन गर्नतर्फ आफू सकारात्मक रहेको बताउनु भयो । सजीव कला संरक्षण सम्बन्धी संस्थानले पहिलोपटक तयार पारेको ISSN मान्यताप्राप्त अनुसन्धनात्मक जर्नल “संस्कृति अध्ययन” प्रकाशनमा ल्याएकोमा यसबाट सजीव कलाको सत्यतथ्य ज्ञानको पुस्तान्तरण सहित संस्कृतिमा श्रीवृद्धि हुनेतर्फ जोड दिनु भयो । साथै सांस्कृतिक पर्यटनमैत्री सांस्कृतिक संस्थानको सेमिनार हल समुद्घाटन गर्दै रैथाने खानपान सहितको पर्यटन लक्षित कार्यक्रम गर्न न्यायोचित हल निर्माण भएकाले संस्थानबाट सांस्कृतिक पर्यटनको विकास हुने क्रियाकलाप सम्पन्न हुने आशावादी रहेको तथा खानपान सहितको कार्यक्रम गर्न उपयुक्त गन्तव्य संस्थान हुन गएकोतर्फ जोड दिनु भयो । ५३ औं वार्षिकोत्सवको अवसरमा शुभकामना दिनुहुँदै संस्थानका नेतृत्व तथा कर्मचारीलाई संस्थानलाई थप समृद्ध बनाउन नयाँ नयाँ सिर्जनशील कार्यतर्फ अघि बढ्न मार्गनिर्देशन समेत दिनु भयो ।
कार्यक्रममा विशेष मन्तव्य राख्नुहुँदै संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले माननीय मन्त्रीज्यूको अभिभावकत्वमा आ.व.२०८१/८२ संस्थानको लागि स्वर्णकाल रहेको बताउनु भयो । भोलि हामी जो जहाँ रहेपनि सत्य र यथार्थ कहिल्यै मेटिने छैन । किनकी हामीले कहिल्यै नमेटिने सत्कर्मका नीति तथा कार्यक्रमहरू सम्पन्न गरेका छौं, यीनै सत्कर्मका कृतिहरू मार्फत हामी संस्थानमा सदा रहनेछौं । हालसम्म निर्णयमै सीमित रहेका कार्यान्वयन हुन नसकेका निकायगत कार्यप्रकृति अनुसार अपरिहार्य रेकर्डिङ स्टुडियो निर्माण, सेमिनार हल निर्माण, डिजिटल उत्पादनको थालनी, डिजिटल हल बुकिङ प्रणाली निर्माण, डिजिटल टिकट प्रणाली निर्माण, संस्थानको इतिहासमा पहिलोपटक ६९.४७ का दरले आय वृद्धि, सजीव कला सम्बन्धी अनुसन्धनात्मक जर्नल निर्माण थालनी, हल छुटको नाउँमा हुने बेथिति पूर्णतः अन्त्य भएको, वर्षौंदेखि कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषमा रहेको करोडौं रुपैयाँ दायित्व समस्या समाधान गरी नियमित तलब भत्तासँगै जाने प्रणाली विकास गरिएको जस्ता थुप्रै नीतिगत प्रणालीको विकास भएकाले यीनै सत्कर्म मार्फत हामी सदा संस्थानमा रहनेतर्फ जोड दिनु भयो । त्यतिमात्र नभई माननीय मन्त्रीज्यूको संस्कृतिप्रति विशेष चिन्तनका कारण संस्थानको इतिहासमा पहिलोपटक संस्थानलाई अनुदान स्वरूप प्राप्त हुने आ.व.२०८२/८३ को वार्षिक बजेटमा रु.५० लाखका दरले सिलिङ वृद्धि भई रु.२ करोड २० लाख पुगेकाले हालसम्मको इतिहास ब्रेक गरेको बताउनु भयो । त्यस्तै वषौंदेखि हराएको ऐतिहासिक गीति नाटक मुनामदनको श्रव्य सामग्री फेला पारी पुनः मञ्चन र प्रदर्शन गर्न सफल भएको, वि.सं.२०३२ साल असार ५ गते संस्थानको तेस्रो वार्षिकोत्सवको अवसरमा पहिलोपटक प्रदर्शन गरिएको नाटकले ५० औं वर्ष पार गरेकोतर्फ खुशी व्यक्त गर्दै स्वर्ण जयन्ती स्वरूप प्रदर्शन गरिएकाले नाटकको उत्पादनमा भूमिका निर्वाह गर्नुहुने स्थापकहरूदेखि हालका निर्देशक कलाकारलाई बधाई ज्ञापन गर्नु भयो ।
चर्चित हास्यकलाकार राजा राजेन्द्र पोख्रेलज्यूले संस्थानको गाईजात्रा महोत्सव २०८२ गत वर्षभन्दा झनै उत्कृष्ट बनाइने कुरा जानकारी दिँदै केही कलाकारको परिचय दिँदै हास्य प्रस्तुति समेत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा दिनेश काफ्ले (हाउडे दाइ) र खबपु चञ्चल मगरले फर्किए स्वरसम्राट नामक प्रहसन गर्नुभएको थियो । सो प्रहसनले उपस्थित जनमनलाई भावुक बनाएको थियो ।



साथै महाप्रबन्धकज्यूले माननीय मन्त्रीज्यूको कार्यकाल समेत स्वर्णकाल रहेको बताउनु भयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपालको अस्तित्व मौलिक संस्कृतिको वकालत गर्ने ज्येष्ठ निकाय सांस्कृतिक संस्थान भएको नाताले संस्थानमा आवद्ध नेतृत्व र कर्मचारीले सत्य र यथार्थ कुरालाई फराकिलो चिन्तनका साथ जनमन समक्ष पुर्याउने पुलको काम गर्नु पर्दछ भन्नेतर्फ जोड दिँदै माननीय मन्त्रीज्यूको कार्यकालमा निकै राष्ट्रहितका कार्य भएकोतर्फ जोड दिनु भयो । सन् २०१० देखि हालसम्म इतिहासमा अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण सम्बन्धी क्रियाकलाप कार्यान्वयन हुन सकेको थिएन । तर माननीय मन्त्री ज्यू संस्कृतिप्रति अत्यन्तै गहिरो चिन्तन राख्नुहुने भएकै कारण उहाँको नेतृत्वमा अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) कार्यविधि, २०८१ लागू गरी नेपालमा पहिलोपटक अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणकाको कार्य शुभारम्भ गरिएको छ । नेपालजस्तो संस्कृतिको धनी देशमा संस्कृतिबाटै समृद्धिको आधार दिशाबोध गर्न नेपालका सम्पूर्ण अभौतिक संस्कृतिहरू अभौतिक सांस्कृतिक सम्पदामा सूचीकरण हुनु आधारभूत शर्त भएकाले सूचीकरण पश्चात् सांस्कृतिक पर्यटनको विकास, रोजगारीको सिर्जना र समृद्धिको मार्ग खुल्ने विश्वास व्यक्त गर्नु भयो । यस्ता किसिमका थुप्रै दीर्घकालीन राष्ट्रहितका कार्य भएकाले माननीय मन्त्रीज्यूको कार्यकाल नेपाली संस्कृतिका लागि स्वर्णकाल भएको बताउनु भयो । संस्थानका त्रुटिपूर्ण ऋण, उपदान दायित्व, ऐन, ओ एण्ड एम, विनियमावली जस्ता संस्थानका नीतिगत समस्याहरूको समाधान पनि माननीय मन्त्रीज्यूको पालामा हुने विश्वास व्यक्त गर्दै आ.व.२०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम सहित विनियोजित बजेट संस्थान सञ्चालक समितिद्वारा २०८२/३/१ गते पारित गरेकाले आ.व.२०८२/८३ मा संस्थानको आय वृद्धि, कर्मचारी वृत्ति विकास सहित आत्मनिर्भर नीति सहित अग्रसर हुने प्रतिबद्धता व्यक्त गर्नु भयो । माननीय मन्त्रीज्यूको असल अभिभावकत्वमा संस्थानको वर्तमान नेतृत्व सुशासन स्थापना गर्न ज्यानको प्रवाह नगरी लागि परेको छ । धेरै चुनौतीका पहाडहरू छिचोल्दै यहाँसम्म आइपुगेका छौं र अझै धेरै चुनौतीका पहाडहरू पार गर्न बाँकी नै छ त्यसका लागि हामी प्रतिबद्ध रहेको पनि बताउनु भयो । कार्यक्रम सभाध्यक्ष संस्थानका अध्यक्ष श्री चन्द्रकुमार राई हतुवालीज्यूको रहेको थियो भने कार्यक्रम सञ्चालन श्री हरि पुन मगरज्यूले गर्नुभएको थियो ।

वि.सं. २०१६ सालमा स्थापित ‘राष्ट्रिय नाचघर’ लाई समग्र नेपाली संस्कृतिको संस्थागत विकासका लागि सञ्चार संस्थान ऐन, २०२८ अनुसार वि.सं २०२९ साल असार ५ गते नाम परिमार्जन सहित “सांस्कृतिक संस्थान” को रूपमा पुनर्गठन गरिएको हो । संस्थानको हिसाबले ५३ औं वार्षिकोत्सवको दिन हो । संस्थानको इतिहासको पानालाई पल्टाएर हेर्ने हो भने संस्कृति विभागबाट सुरु भई राष्ट्रिय नाचघर हुँदै सांस्कृतिक संस्थानसम्म आइपुग्दा विभिन्न आरोह–अवरोहहरू पार गरेको छ । नेपालको पहिचानयुक्त लोकसंस्कृतिलाई सजीव प्रदर्शनीका माध्यमबाट संरक्षण, संवद्र्धन, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने अभिभारा बोकेको संस्थानको उत्पत्ति एवम् इतिहासकालको लेखाजोखा गर्ने हो सत्यतथ्य खोज–अनुसन्धानको जरुरी देखिन्छ । संस्थान संस्कृति विभागका रूपमा वि.सं.२०१६ सालभन्दा अगाडिदेखि स्थापित थियो भन्ने कुराको लेखहरू थुप्रै इतिहास सम्बन्धी पुस्तक, राजनैतिक सम्बन्धी पुस्तक तथा संस्कृति सम्बन्धी पुस्तकहरूमा पाइन्छ । वि.सं.२०१६ सालमा स्थापित राष्ट्रिय नाचघर पनि संस्कृति विभाग अन्तर्गत रहेको तथ्य वरिष्ठ संस्कृतिविद्, नृत्यशास्त्री एवम् नेपालको जिउँदो सांस्कृतिक सम्पदा श्री भैरव बहादुर थापाज्यूका थुप्रै लेख र अन्तर्वार्तामा पाइन्छ । राष्ट्रिय नाचघरबाट नाम परिमार्जन सहित वि.सं.२०२९ सालमा सांस्कृतिक संस्थानको रूपमा पुनर्गठन भएको अवधिलाई हेर्ने हो भने संस्थानको ६६ औं वार्षिकोत्सव हो ।
कार्यक्रममा वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी रुपमा सम्पन्न खेलकुद विजेता कर्मचारीलाई प्रमाण पत्र वितरण गरिएको थियो ।



