विश्व सङ्गीत दिवसको शुभकामना

विश्व सङ्गीत दिवसको शुभकामना


विश्व सङ्गीत दिवसको शुभकामना 


आज विश्व सङ्गीत दिवस, पहिलोपटक सन् १९८२ जुन २१ तारिखमा फ्रान्समा यो दिवस मनाउन सुरुवात गरिएसँगै हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन विश्व सङ्गीत दिवस मनाउने गरिएको छ । जुन २१ लाई युनेस्कोले विश्व सङ्गीत दिवसको रूपमा स्थापित गरेको हो । हाल संसारका १ सय बढी देशमा सङ्गीत दिवस उत्सवका रूपमा मनाइन्छ । सङ्गीत विज्ञका अनुसार नेपालमा भने वि.सं.२०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो । बर्षभरीकै लामो दिनका रूपमा समेत जुन २१ लाई लिइन्छ । सङ्गीतका साधकहरू तथा सङ्गीत प्रेमी–मनहरूले विश्व सङ्गीत दिवसलाई हर्षोल्लासका साथ मनाउँदै आएका छन् ।

सङ्गीतलाई सजीव कला प्रदर्शनीको दृष्टिकोणबाट हेर्ने हो भने गायन, वादन र नृत्यको सामूहिक रूपलाई सङ्गीत भनिन्छ । गायनको आधारमा वादन, गायन र वादनको आधारमा नृत्य हुने भएको यी तिनै पक्ष एक–अर्काका परिपूरक छन् । गीत शब्दमा सम उपसर्ग लागेर सङ्गीत शब्दको निर्माण हुन्छ । सम याने सहित, गीत याने गायन अर्थात् गायन सहित वादन तथा नृत्य गरिने कार्यलाई सङ्गीत भनिन्छ । सङ्गीत विश्वभाषा हो । सङ्गीतलाई न भूगोल छेक्छ, न कुनै सीमाले छेक्छ, न कुनै बन्धनले छेक्छ । सङ्गीत स्वतन्त्र रूपमा संसारभर फैलन्छ । भाषा नबुझे पनि राम्रो सङ्गीत संसारभर प्रख्यात भइदिन्छ । नेपाली सङ्गीतमा विधागत रूपमा थुप्रै विधाहरू पाइन्छन् । हरेक नेपाली सङ्गीत विधाहरूको संरक्षण तथा प्रवद्र्धनका लागि साझा नीति अपरिहार्य छ ।

संस्कृति भित्रको प्रमुख तत्त्व सङ्गीत हो । हरेक मानवका लागि सङ्गीत सुखदुःखको साथी हो, जीवन हो, सहारा हो, सत्मार्गतर्फ डो¥याउने मार्गनिर्देशक हो । सङ्गीतले सामाजिक तथा सांस्कृतिक रूपान्तरण सहित सभ्य समाज निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । देशका ठूलाठूला परिवर्तनहरूमा सङ्गीतको सशक्त भूमिका रहेको सर्वविदितै छ । सङ्गीतमा अलौकिक शक्ति छ, जसका कारण वैज्ञानिक युगसँगै आविष्कार भएका विविध पक्ष समेत सङ्गीतको अगाडि झुक्नु परेको छ । सङ्गीतले नवजागरण प्रवाह गर्दै कुसंस्कार, विकृति, विसंगति, रूढिवादी सोच, अन्धविश्वास, अन्याय, अत्याचार तथा बेथिति निर्मूलन गर्न समाजमा नैतिक शिक्षा सम्प्रेषणका लागि अग्रणी भूमिका निर्वाह गर्दछ ।

नेपालको पहिचानयुक्त समग्र नेपाली सङ्गीतको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि सांस्कृतिक संस्थान सदा प्रतिबद्ध छ । नेपाली सङ्गीतले हरेक नेपालीहरू बीच आपसी सद्भाव तथा राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न सकोस् । हरेक नेपालीहरूमा सङ्गीतलाई सम्मान गर्ने तथा राष्ट्रको गौरवको रूपमा शिरोपर गर्ने चिन्तनको विकास होस् भन्दै विश्व सङ्गीत दिवसको शुभकामना व्यक्त गर्दछु ।


७ असार २०८२                                                               किरण बाबु पुन
ने.सं.११४५ तछलागा दशमी                                                       महाप्रबन्धक                                                                                                                                             

 

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij