वार्षिकोत्सवमा आशीर्वाद सहित मर्मस्पर्शी सन्देश : संस्मरण
संस्कृति विभागबाट सुरु भई राष्ट्रिय नाचघर हुँदै सांस्कृतिक संस्थानसम्म आइपुग्दा विभिन्न आरोह–अवरोहहरू संस्थानले पार गरेको छ । वि.सं. २०१६ सालमा स्थापित ‘राष्ट्रिय नाचघर’ लाई समग्र नेपाली संस्कृतिको संस्थागत विकासका लागि सञ्चार संस्थान ऐन, २०२८ अनुसार वि.सं २०२९ साल असार ५ गते नाम परिमार्जन सहित “सांस्कृतिक संस्थान” को रूपमा पुनर्गठन गरिएको हो । संस्थानको हिसाबले ५३ औं वार्षिकोत्सवको हो भने राष्ट्रिय नाचघरबाट नाम परिमार्जन सहित सांस्कृतिक संस्थानको रूपमा पुनर्गठन भएको अवधिलाई हेर्ने हो भने संस्थानको ६६ औं वार्षिकोत्सव हो । संस्थानको इतिहासको पानालाई पल्टाएर हेर्ने हो भने संस्थान संस्कृति विभागका रूपमा वि.सं.२०१६ सालभन्दा अगाडिदेखि स्थापित थियो भन्ने कुरा इतिहास सम्बन्धी पुस्तक, राजनैतिक सम्बन्धी पुस्तक, संस्कृति सम्बन्धी पुस्तकहरू र संस्थानका लागि जिउँदो इतिहास श्री भैरव बहादुर थापाज्यूका लेखबाट स्पष्ट हुन्छ। तसर्थ संस्थानको सत्यतथ्य इतिहासको बारेमा खोज–अनुसन्धान अपरिहार्य देखिन्छ ।
हरेक दिन बिहान सातदेखि आठ बजेभित्र कार्यालयमा पुग्नु मेरो दैनिकीजस्तै बनिसकेको छ । वार्षिकोत्सवको तयारी गर्नुपर्ने भएकाले अझ बिहानै कार्यालय पुग्ने गरेको थिएँ । सांस्कृतिक संस्थानको ५३ औं वार्षिकोत्सवको दिन मिति २०८२ असार ५ गतेको दिन थियो । बिहानै ४ बजे उठेर म आज झनै बिहानै कार्यालय जानुपर्छ भनेर तयारी हुँदै थिएँ । बिहान करिब ५ बजे होला कर्णालीको छोरो पूर्व कर्मचारी तथा वरिष्ठ कलाकार श्री प्रेमदेव गिरी बुवाको फोन आयो । बिहानै बडो ऊर्जाशील एवम् भावुक हुने गरी शुभकामना तथा आशीर्वाद दिनु भयो । उहाँले राष्ट्रिय नाचघरदेखि सांस्कृतिक संस्थानका आरोह–अवरोहका कुरा गर्दै राष्ट्रिय नाचघरको अस्तित्व बचाउने अभिभारा तपाईंको हो । हामीलाई निकै चिन्ता लाग्ने गर्थ्यो कि संस्थानको इतिहास सबै मेटिने हो की ? किनकी राष्ट्रिय नाचघरदेखिका ती सांस्कृतिक सम्पत्तिहरू भवन निर्माण गर्ने, डिजिटाइजेशन गर्ने नाउँमा कहाँ–कहाँ पुगे होला । हामीले गरेका कृतिहरू कुनै बाँकी नरहने भयो भनेर म कहिलेकाहीँ रुने गर्थें । जसमध्येको राष्ट्रिय नाचघरको सबैभन्दा बढी लोकप्रिय कृति गीति नाटक “मुनामदन” हरायो भन्दा धेरै दुःख लागेको थियो । सायद अब कहिल्यै त्यो गीति नाटक मञ्चन तथा प्रदर्शन हुँदैन होला भनेर मैले आश मारिसकेको थिएँ । तर तपाईंले उत्खनन गरी फेरि वर्षौंदेखि हराएको गीति नाटकको श्रव्य सामग्री फेला पारी पुनः मञ्चन गरी नयाँ पुस्तामाझ प्रदर्शनमा ल्याउन सफल हुनु नै तपाईंको कार्यकालको एक स्वर्णीम पक्ष हो । राष्ट्रिय नाचघरको पहिचानसँग जोडिएको, आफूले वाद्यवादकको रूपमा काम गरेको र राष्ट्रका धरोहरहरूले निर्माण गरेको गीति नाटक भएकाले मुनामदन आफैमा ऐतिहासिक भएको उहाँले बताउनु भयो । राष्ट्रिय नाचघरदेखि सांस्कृतिक संस्थानसम्मको इतिहासको जिउँदो साक्षी आफू भएकाले जुनसुकै समयमा पनि तपाईंलाई साथ दिन म तयार छु । बुढेसकाल लागेपनि सत्यको पक्षमा लड्ने म भित्र अझै तागत रहेकाले तपाईं विचलित नभई अगाडि बढ्नुहोस् तपाईं मेरो छोरा जस्तै हो मेरो आशीर्वाद छ । त्यसैमा तपाईं पनि कर्णालीको छोरो भएकाले संस्थानमा कर्णालीको देन स्थापनाकालदेखि हालसम्म रहेकाले हामीले संस्थानको अस्तित्व बचाउनु पर्छ, तपाईं नबिराउनु, नडराउनु । राष्ट्रिय नाचघरदेखि सांस्कृतिक संस्थानसम्म आफ्नो सारा जीवन व्यतीत गर्नुभई अतुलनीय योगदान दिनुहुने राष्ट्रिय व्यक्तित्व प्रेमदेव गिरी बुवाको बिहानै यी ऊर्जाशील र भावुक आशीर्वादले संस्थानको ५३ औं वार्षिकोत्सवको क्षण थप गौरवमय बन्यो । त्यस पश्चात् म मेरा जीवित भगवान् आमाबुवालाई सम्झीएर आशीर्वाद लिएर कार्यालयतर्फ लागें ।
कार्यालय पुगिसकेपछि म तयारीमा व्यस्त भएँ । बिहान ८ बजेको थियो होला एउटा भावुक एसएमएस मेरो सचिवालयबाट प्राप्त भयो । सांस्कृतिक संस्थान राष्ट्रिय सम्मान तथा पुरस्कार अन्तर्गत नाट्य अभिनयतर्फ सम्मानित हुनुहुने वरिष्ठ कलाकार श्री लोकनाथ ढकालज्यूको एसएमएस रहेछ । उहाँ राष्ट्रिय नाचघरदेखि सांस्कृतिक संस्थानसम्म अतुलनीय योगदान दिनुहुने राष्ट्रिय व्यक्तित्व मध्ये एक हो । उहाँ वर्षौंदेखि अस्वस्थ भएर थला पर्नुभएको रहेछ । उहाँको सन्देशले म अति भावुक भएँ ।
उहाँको सन्देश :
धेरै वर्षपछि नाचघर टेक्ने मन थ्यो,
साँच्चै भन्छु — एक झल्को सबैलाई देख्ने मन थ्यो ।
पुराना साथीहरू, नयाँ अनुहारहरू,
त्यो मञ्च, त्यो गन्ध, त्यो पर्दा, सबैलाई एकचोटि फेरि छुन मन लागिरहेको थियो ।
२ दशकभन्दा बढी बिताएँ मैले त्यही नाचघरभित्र,
२४ वर्ष ९ महिना,
साँझपखको बाजाको आवाजसँगै म मेरो जीवनको संवाद बोल्थेँ।
दिन रात नभनी, कहिले निर्देशक भएर, कहिले पात्र भएर,
मैले त्यो रंगमञ्चलाई मन्दिर झैँ पूजा गरेँ ।
अब त १० वर्ष भयो, पर्दा पछाडि बसेको,
मौन छु, तर नाचघरको हरेक संवादमा अझै बाँचेको छु ।
र अहिले,
५३ औं वार्षिक उत्सवको निमन्त्रणा आयो,
नाट्य विधामा योगदानको सम्मान स्वरूप मलाई सम्झियो ।
मन त हर्षले भरियो,
तर शरीरले साथ दिएन,
बिहानैदेखि मनभित्र ठूलो द्वन्द्व थियो,
जाऊँ कि नजाऊँ?
तर अन्त्यमा शरीरको बाध्यताले नजाऊ भन्यो,
र मनको तीव्र इच्छालाई चुप लगायो ।
आज म त्यहाँ छैन,
तर त्यो पुरस्कार,
मेरा पसिना, मेरो माया र मेरो समर्पणको साक्षी हो,
त्यो मेरो होइन, त्यो त नाचघरप्रतिको मेरो श्रद्धा हो ।
हासो आँशुमा परिणत भयो,
खुशी कतै गहिरो पीडामा लुकेको छ,
भेट अधुरो रह्यो,
कल्पनाहरू हावामा बिलायो ।
मेरो भाग्य यस्तै रहेछ,
मुहारमा हाँसो ल्याउन सकिन,
मनभरी कथा, सम्झना र पीडा थिए,
तर सबैको सामु आइ सुनाउन सकिन ।
तर म जान्छु,
त्यो मञ्चले मलाई सम्झिरहनेछ,
र आजको त्यो पुरस्कार मेरो नाममा घोषणा हुँदा,
त्यही पर्दा पछाडिबाट आत्मीय रूपमा म मुस्कुराउनेछु,
चुपचाप, निःशब्द — तर गर्वले भरिएको ।
✍ – लोकनाथ ढकाल
उहाँहरू जस्ता सिर्जनशील राष्ट्रिय व्यक्तित्वको योगदानलाई संस्थान सदा उच्च सम्मान गर्दछ । यो सन्देशले मेरो मन भारी भयो । उहाँले सन्देशलाई मैले मेरो ऊर्जाको रूपमा स्वीकार्दै उहाँको स्वास्थलाभको कामना गरेँ । राष्ट्रलाई सिर्जनशील कला मार्फत अतुलनीय योगदान पुर्याउने यस्ता राष्ट्रिय व्यक्तित्वको जीवन रक्षार्थ स्पष्ट राज्य नीति अपरिहार्य भएको आवाज बारम्बार मैले उठाइरहेकै छु, तर यो क्षणमा जोडले संसारले सुन्ने गरी आवाज उठाउने ऊर्जा मिल्यो ।
कार्यालयमा वार्षिकोत्सवको कार्यक्रम तयारी पश्चात् थुप्रै व्यक्तिहरूको प्रत्यक्ष शुभकामना ग्रहण गर्ने क्रम चलिरह्यो । यसैक्रममा वरिष्ठ संस्कृतिविद्, नृत्यशास्त्री तथा नेपालको जिउँदो सांस्कृतिक सम्पदा श्री भैरव बहादुर थापा ज्यू बुवासँग प्रत्यक्ष भेटघाटमा बडो भावुक आशीर्वाद ग्रहण गर्ने शौभाग्य मिल्यो । हरेक समस्याले ग्रस्त संस्थानमा सांस्कृतिक क्रान्ति ल्याउनु भएकोमा तपाईंलाई हार्दिक बधाई छ । सांस्कृतिक विभाग, राष्ट्रिय नाचघरको स्थापनादेखि संस्थापकको रूपमा समेत काम गर्ने शौभाग्य पाएको मैले संस्थानको चिन्ता विशेष गर्ने गरेको छु । तपाईंको गतिविधि हेरिरहेको छु । राम्रो गर्नुभएको छ । अझै राम्रो गर्नु, नेपालमा राम्रो गरेको कसैले देख्न सक्दैनन् त्यसैले कहिल्यै हरेस नखानु, नबिराउनु – नडराउनु । म तपाईंको साथमा छु । बुवाको यो आशीर्वादले मलाई झनै ऊर्जाशील बनायो । साँच्चै अन्तर्राष्ट्रिय रूपमा समेत छुट्टै पहिचान बनाउनु भएको, राष्ट्रिय रूपमा जिउँदो सांस्कृतिक सम्पदा र संस्थानका लागि जिउँदो इतिहासको त्यो आशीर्वाद पाउनु मेरा लागि त्यो सम्म ठूलो कुरा के हन्छ र ?
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डेज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम सभ्यभव्य रूपमा सम्पन्न गरियो । माननीय मन्त्रीज्यूले संस्थान समृद्धिको लागि असल मार्गनिर्देशन दिनु भयो । संस्थाको वार्षिक प्रगति प्रतिवेदनबाट असाध्यै खुशी हुनु भयो । नेपाल सरकारका देशैभरीका संस्थानहरू सदा समस्या ग्रस्त, घाटामा गएको मात्रै भन्ने सुन्नमा आउँछ, तर सांस्कृतिक संस्थान समस्या ग्रस्त हुँदापनि नसोचेको आय वृद्धि गरेर प्रमाणित गरेकाले यसबाट देशैभरीका संस्थानहरूले पाठ सिक्नुपर्ने बताउनु भयो । यसबाट झनै सत्कर्म गर्ने ऊर्जा मिलेको छ । प्रण गरेँ जतिसुकै बाधाअड्चन आएपनि विचलित नभई सत्कर्म गर्नेछु, सुशासन कायम गर्नेछु ।
किरण बाबु पुन
महाप्रबन्धक