२२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको शुभकामना
Dhan Dibas with leterhead 2082.pdf :To download file click here
नेपाल कृषिप्रधान देश भएकाले मुख्य खाद्यबाली धानको महत्त्व राष्ट्रको इतिहास, सभ्यता, जीवन पद्धति र धार्मिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक पक्षसँग जोडिएको छ । धानको महत्त्व दर्शाउन सर्वप्रथम श्रमजीवी किसान लक्षित श्रम संस्कृति विकास गर्नु आजको आधारभूत शर्त हो । असार १५ गतेको दिनलाई धान दिवस तथा रोपाइँ महोत्सव स्वरूप उत्सवका रूपमा मनाउने गरिन्छ । यस दिनलाई मानो रोपेर मुरी फलाउने दिनका रूपमा देशका अधिकांश स्थानमा रोपाइँ थालनी गर्ने, असारे भाका गाउने तथा दही, चिउरा खाने सांस्कृतिक पर्वका रूपमा समेत मनाउने गरिन्छ ।
किसानको श्रमको सम्मान गर्ने उद्देश्यले नेपाल सरकारले वि.सं.२०६१ सालदेखि हरेक वर्ष असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको छ । यस वर्ष पनि “धानबालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नाराका साथ देशैभर २२ औं राष्ट्रिय धान दिवस मनाइँदै छ । धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै गर्दा विशेष गरी यसको गरिमा, किसान अधिकार र नेपाली संस्कृतिको अमूल्य निधिका रूपमा धानको महत्त्वलाई विकास गर्नतर्फ जोड दिनु पर्दछ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताभित्र एकता भएको देश भएकाले विभिन्न सांस्कृतिक चाडपर्व, मूल्य–मान्यता, रीतिरिवाज, परम्परा, सामाजिक पक्ष, जीवन पद्धति तथा समग्र संस्कृतिसँग जोडिएको प्रमुख खाद्यबाली धानको संरक्षण, प्रवर्द्धन र विकास गर्नु राज्य तथा हरेक नेपालीको दायित्व हो । जन्मदेखि मृत्यु पर्यन्तका क्रियाकलाप जस्तै : न्वारान, पास्नी, पूजापाठ, चाडपर्व, छेवर, व्रतवन्ध, विवाह, मृत्यु संस्कार जस्ता क्रियाकलापहरू धान–चामलविना पुरा हुन सक्दैनन् । परम्परागत रूपमा गाउँघरमा पालैपालो पर्मद्वारा रोपाइँ गरिने संस्कृति रहेकाले यसबाट सामाजिक एकता र सद्भाव बढाउन यस पर्वले प्राचीनकालदेखि ठूलो टेवा पुर्याउँदै आएको पाइन्छ । रोपाइँ सम्बन्धी विभिन्न किंवदन्ती पनि रहेको पाइन्छ ।
राष्ट्रिय धान दिवससँग जोडिएका सांस्कृतिक पक्षको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि सांस्कृतिक संस्थान सदा प्रतिबद्ध छ । श्रम संस्कृति जोडिएको यस पर्वले नेपालीहरू बीच आपसी सद्भाव तथा राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न सकोस् भन्ने शुभेच्छा प्रकट सहित २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ को शुभकामना व्यक्त गर्दछु ।
१५ असार २०८२ किरण बाबु पुन
ने.सं.११४५ दिल्लाथ्व चतुर्थी महाप्रबन्धक