साउने संक्रान्तिको शुभकामना

साउने संक्रान्तिको शुभकामना


 

साउने संक्रान्तिको शुभकामना


नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताभित्र एकता भएको देश भएकाले अनेकतामा एकताको सूत्रमा बाँध्न सांस्कृतिक चाडपर्वको प्रमुख भूमिका रहन्छ। संस्कृतिलाई जीवन्त राख्ने माध्यम पनि चाडपर्व हुन् ।

साउन महिनाको पहिलो दिनलाई साउने संक्रान्ति भनिन्छ । ज्योतिष शास्त्र अनुसार साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई ‘कर्कट संक्रान्ति’ पनि भनिन्छ। नेपाली समाजमा साउने संक्रान्तिलाई सांस्कृतिक पर्वको रुपमा मनाउने प्रचलन छ। कृषिप्रधान देश नेपालमा अधिकांश नेपालीहरु असार महिनाभरी खेती किसानीमा लाग्ने भएकाले त्यस क्रममा हिलोमैलोले लाग्ने छाला सम्बन्धी रोगबाट बच्न लुतो फाल्ने चलन छ । विधिवत रूपमा पूजापाठ गरी लुतो फाल्नाले रोग निको हुने जनविश्वास रहेको छ। सामान्यतया सूर्यले सबै राशीलाई प्रभावित गरेतापनि कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ । “माघे संक्रान्तिले चाड धपाउँछ, साउने संक्रान्तिले चाड बोलाउँछ” भन्ने उखान नेपाली समाजमा  प्रचलनमा रहेको छ। साउने संक्रान्तिदेखि सूर्य उत्तरी गोलाद्र्धबाट दक्षिणी गोलार्द्धतर्फ प्रवेश गर्ने भएकाले दिन छोटो र रात लामो हुँदै जाने क्रम चल्दछ। 

साउने संक्रान्ति पर्वलाई प्रकृतिको पूजा गर्ने, पुर्खाको सम्झना तथा सम्मान गर्ने, विगत र वर्तमानको समीक्षा गर्दै भविष्यको योजना बनाउने पर्वको रूपमा समेत मान्ने गरिन्छ । साउन महिना धार्मिक, प्राकृतिक र सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । साउने संक्रान्तिलाई लुतो फाल्ने चाडका रूपमा लिइएतापनि नेपालमा बसोबास गर्ने आदिबासी जनजातिहरूले साउने संक्रान्ति पर्वलाई मौलिक चाडका रूपमा आ–आफ्नै विधिपद्धति अनुसार प्रकृतिको पूजा गरी मनाउने प्रचलन छ। जस अन्तर्गत आदिवासी जनजातिमा जनसंख्याको हिसाबले पहिलो स्थानमा रहेको मगर समुदायले साउने संक्रान्तिलाई उधेली पर्वका रूपमा मनाउने गर्दछन् । मगर समुदायले परम्परागत रुपमा उधेली र उभेली गरी दुईवटा ऋतु मान्ने गर्दछन् । जहाँ साउनदेखि पुषसम्म उधेली र माघदेखि असारसम्म उभेली गरी ६/६ महिनाको दुई ऋतुलाई मान्ने गर्दछन्। प्रकृति पूजक मगर समुदायका पौराणिक किंवदन्ती अनुसार उभेली ऋतुमा गायन, वादन तथा नृत्य सम्बन्धी मनोरञ्जन क्रियाकलाप गर्न नहुने र उधेली ऋतु सुरु हुनासाथ प्रकृतिको पूजा गरी मगर समुदायको प्रमुख बाजा मादल बाजा विधिवत रुपमा फुकाई गायन, वादन तथा नृत्य सम्बन्धी क्रियाकलाप शुभारम्भ गर्ने सांस्कृतिक परम्परा रहेको छ। साउने संक्रान्तिका दिन त्रिभुवन पार्क, थानकोटमा धेरै वर्ष पहिलेदेखि मौलिक चाड उधेली पर्व (साउने संकराई) को रक्षार्थ काठमाडौँ उपत्यकामा बसोबास गर्ने मगर समुदायको उधेली पर्व विशेष सांस्कृतिक मेला लाग्ने चलन रहेको छ । 

मौलिक सांस्कृतिक चाडपर्वहरूको संरक्षण, संवर्द्धन, प्रवर्द्धन र पुस्तान्तरणका लागि नेपाल सरकारको ज्येष्ठ निकाय सांस्कृतिक संस्थान सदा प्रतिबद्ध छ । यस पर्वले हरेक नेपालीहरू बीच आपसी सद्भाव तथा राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न सकोस् भन्ने शुभेच्छा सहित साउने संक्रान्ति २०८२ को शुभकामना व्यक्त गर्दछु ।    
                                                                                                                                   
१ साउन २०८२,  ने.सं.११४५ दिल्लागा सप्तमी                                            

किरण बाबु पुन : महाप्रबन्धक                                                                                      

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij