साउने संकराई (उधेली पर्व) विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न
काठमाडौँ, २०८२ साउन १ गते ।
त्रिभुवन पार्क, थानकोट, काठमाडौँमा अथार मगरात मगर प्रतिष्ठानको आयोजनामा र सांस्कृतिक संस्थानको सहकार्यमा साउने संकराई (उधेली पर्व) २०८२ विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा सभाध्यक्ष प्रतिष्ठानका अध्यक्ष श्री झबिन्द्र पुन मगर ज्यू, प्रमुख अतिथि पूर्वउपराष्ट्रपति श्री नन्द बहादुर पुन ज्यू, विशिष्ट अतिथिहरूमा क्रमशः पूर्वसभामुख श्री ओनसरी घर्ती ज्यू, वरिष्ठ संस्कृतिविद् माननीय श्री बम कुमारी बुढा मगर ज्यू, नेपाल मगर संघका अध्यक्ष तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव श्री ज्ञानेन्द्र पुन मगर ज्यू, सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू लगायतका थुप्रै अतिथिहरुको सहभागिता रहेको थियो । नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानको आ.व.२०८२८३ को नीति तथा कार्यक्रम अन्तर्गत सांस्कृतिक पर्व संरक्षण सम्बन्धी नीति अन्तर्गत रहेको उक्त कार्यक्रम आ.व.को सुरुवातको दिनमै मौलिक सांस्कृतिक पर्व साउने संक्रान्ति विशेष कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताभित्र एकता भएको देश भएकाले अनेकतामा एकताको सूत्रमा बाँध्न सांस्कृतिक चाडपर्वको प्रमुख भूमिका रहन्छ । संस्कृतिलाई जीवन्त राख्ने माध्यम पनि चाडपर्व हुन् । साउन महिनाको पहिलो दिनलाई साउने संक्रान्ति भनिन्छ । कृषिप्रधान देश नेपालमा अधिकांश नेपालीहरू असार महिनाभरी खेती किसानीमा लाग्ने भएकाले त्यस क्रममा हिलोमैलोले लाग्ने छाला सम्बन्धी रोगबाट बच्न लुतो फाल्ने चलन छ । विधिवत रूपमा पूजापाठ गरी लुतो फाल्नाले रोग निको हुने जनविश्वास रहेको छ । “माघे संक्रान्तिले चाड धपाउँछ, साउने संक्रान्तिले चाड बोलाउँछ” भन्ने उखान नेपाली समाजमा प्रचलनमा रहेको छ । साउने संक्रान्ति पश्चात् हाम्रा ठूलाठूला चाडपर्वहरू शुभारम्भ हुने गर्दछन् । साउने संक्रान्ति पर्वलाई प्रकृतिको पूजा गर्ने, पुर्खाको सम्झना तथा सम्मान गर्ने, विगत र वर्तमानको समीक्षा गर्दै भविष्यको योजना बनाउने पर्वको रूपमा समेत मान्ने गरिन्छ । साउन महिना धार्मिक, प्राकृतिक र सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । साउने संक्रान्तिलाई लुतो फाल्ने चाडका रूपमा लिइएतापनि नेपालमा बसोबास गर्ने आदिवासी जनजातिहरूले साउने संक्रान्ति पर्वलाई मौलिक चाडका रूपमा आ–आफ्नै विधिपद्धति अनुसार प्रकृतिको पूजा गरी मनाउने प्रचलन छ । जस अन्तर्गत आदिवासी जनजातिमा जनसंख्याको हिसाबले पहिलो स्थानमा रहेको मगर समुदायले साउने संक्रान्तिलाई उधेली पर्वका रूपमा मनाउने गर्दछन् । मगर समुदायले परम्परागत रूपमा उधेली र उभेली गरी दुईवटा ऋतु मान्ने गर्दछन् । जहाँ साउनदेखि पुषसम्म उधेली र माघदेखि असारसम्म उभेली गरी ६/६ महिनाको दुई ऋतुलाई मान्ने गर्दछन् । प्रकृति पूजक मगर समुदायका पौराणिक किंवदन्ती अनुसार उभेली ऋतुमा गायन, वादन तथा नृत्य सम्बन्धी मनोरञ्जन क्रियाकलाप गर्न नहुने र उधेली ऋतु सुरु हुनासाथ प्रकृतिको पूजा गरी मगर समुदायको प्रमुख बाजा मादल बाजा विधिवत रुपमा फुकाई गायन, वादन तथा नृत्य सम्बन्धी क्रियाकलाप शुभारम्भ गर्ने सांस्कृतिक परम्परा रहेको छ । साउने संकराई (उधेली पर्व) पर्वमा मगर समुदायको मौलिक सांस्कृतिक पक्ष रहेको पाइन्छ, जस्तो कि, बाली नष्ट गर्ने विभिन्न किराहरूको प्रतीक बनाई प्राकृतिक दैवी प्रकोप नआओस्, अनिकाल नहोस्, दु:ख कष्ट नहोस्, पृथ्वीका प्राणीको भलो होस् भनी कामना गरी प्रकृतिको पूजा गर्नु, विधिवत रूपमा मगरबाजा मादल फुकाई मनोरञ्जनको सुरुवात गर्नु आदि ।
सांस्कृतिक संस्थानको नीति र कार्यक्रम अन्तर्गत संस्कृतिभित्रको प्रमुख अवयव सांस्कृतिक चाडपर्वहरूको संरक्षण, संवर्द्धन, प्रवर्द्धन र पुस्तान्तरणका लागि विभिन्न चाडपर्वहरुको स्थलगत रूपमै सहभागी भई क्रियाकलाप सञ्चालन गर्ने उद्देश्य अनुरूप उक्त मौलिक सांस्कृतिक पर्व साउने संकराई पर्व विशेष कार्यक्रममा सहकार्य गरी सभ्य–भव्य ढंगले सम्पन्न गरिएको हो । यस अवसरमा अथार मगरात मगर प्रतिष्ठानद्वारा अथार मगरात क्षेत्रको मौलिक परम्परा, संस्कार, रीतिथिति र चालचलन अनुसार विशेष पहिचानयुक्त संस्कृति प्रदर्शनी तथा विभिन्न जीवजनावर, किराफट्याङ्ग्राका आकारमा तयार पारिएका रैथाने खानाका परिकारहरूको प्रतिस्पर्धासँगै प्रदर्शन गरिएको थियो । मगर समुदायले साउने संक्रान्तिलाई विशेष महान् मौलिक सांस्कृतिक चाड तथा आफूहरूले मान्दै आएका ऋतु परिवर्तनको सूचक स्वरूप समते यस पर्वलाई मनाउने गर्दछन् ।
सो कार्यक्रममा वरिष्ठ संस्कृतिविद् श्री बम कुमारी बुढा मगरले धारणा राख्नुहुँदै चाडपर्वको महत्त्वबारे स्पष्ट पार्नुभएको थियो । उहाँका अनुसार साउने संकराई मगरहरूको ऋतु विशेष पर्वसँग सांस्कृतिक सम्बन्ध राख्ने भएकाले यसको गरिमा प्राकृतिक, सांस्कृतिक र वैज्ञानिक रहेको तर्फ जोड दिनुभयो । उहाँले मगर जातिले परम्परागत रूपमा मान्ने दुईवटा ऋतु उधेली र उभेलीको गरिमा अपरम्पार रहेको बताउनु भयो । साउनदेखि पुषसम्म उधेली र माघदेखि असारसम्म उभेली ६/६ महिनाको दुई ऋतु रहेको र यी ऋतुसँग सम्बन्धित मौलिक किंवदन्ती अनुसार उभेली ऋतुमा भ्यागुता जमिन बाहिर बस्ने भएकाले गायन, वादन र नृत्य सम्बन्धी क्रियाकलाप गर्दा भ्यागुताको मुटु थर्किन्छ, पाप लाग्छ भन्ने मान्यता रहेको अर्थात् उभेलीमा भ्यागुता जमिन बाहिर बस्ने र जीवनचक्र पार गर्ने हुनाले माघदेखि असारसम्म गायन, वादन र नृत्य सम्बन्धी क्रियाकलाप गर्न नहुने, जब उधेली ऋतु सुरु हुन्छ तब भ्यागुता जमिन मुनि बस्ने भएकाले त्यसबखत गायन, वादन र नृत्य गर्न उपयुक्त हुने भन्ने मान्यता अनुसार उधेली ऋतुमा मगर समुदायले आफ्नो प्रमुख बाजा मादल बाजा विधिवत रूपमा फुकाएर प्रकृतिको पूजा गरी गायन, वादन र नृत्य सम्बन्धी क्रियाकलाप शुभारम्भ गर्ने गर्दछन् । त्यस्तै नचारु (पुरुष कलाकार) र जोराल्नी (महिला कलाकार) हरू गुर (गुरु) र गुरमी (गुरुमा) सँग सम्पर्क गरी जैसी (विद्वान) द्वारा उपयुक्त साइत हेराएर जीउपछे जोग (पर्व) मा नचारू जोराल्नीले आ–फ्नो समूहमा ओखला पूजा वा नाचको आरम्भ गर्दछन् । ओखला भन्नाले शिलान्यास वा उद्घाटन भन्ने हुन्छ । साउन १ गते भूमिको पूजा गरी मादल बाजा फुकाई ओखला पूजा गरी नचारू नाचको शुभारम्भ गरिन्छ । नचारू अन्तर्गत पैस्यारू, सिङारू, सरङ्ङया, धोता आदि नाच पर्दछन् । यसरी उधेली ऋतुको सुरुवातसँगै मनाइने साउने संक्रान्ति पर्वले मगर समुदायको सांस्कृतिक पक्षसँग गहिरो सम्बन्ध राख्दछ ।
यसरी अनौठो मौलिक संस्कृति बोकेका हरेक समुदायका सांस्कृतिक चाडपर्वको संरक्षणका लागि सांस्कृतिक संस्थानले आफ्नो नीति तथा कार्यक्रम तय गरेकाले चाडपर्वको विशेषतालाई नजिकबाट नियालेर यसको संरक्षण, संवर्द्धन प्रवर्द्धन र पुस्तान्तरण गर्नु सांस्कृतिक संस्थानको प्रमुख जिम्मेवारी भएकोले अथार मगरात मगर प्रतिष्ठानसँग सहकार्य गरी स्थलगत रूपमा सो कार्यक्रम गरिएको व्यहोरा संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले बताउनु भयो । कार्यक्रममा सांस्कृतिक संस्थानका कलाकारको विशेष प्रस्तुति र मगर समुदायका विविध संस्कृति प्रदर्शनसँगै सभ्य–भव्य रूपमा सम्पन्न गरिएको थियो । महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको नेतृत्वमा सांस्कृतिक संस्थानले आफ्नो मुख्य अभिभारा अनुरुप देशको पहिचानसँग जोडिएका सम्पूर्ण सांस्कृतिक पर्वहरुको जगेनार्थ चाडपर्व केन्द्रित नीति तथा कार्यक्रमका साथ अगाडि बढेको छ ।