२६ औं अरुण स्मृति दिवस श्रद्धार्पणका साथ मनाइयो
राष्ट्रिय व्यक्तित्व स्व.अरूण थापाको “२६ औं स्मृति दिवस” श्रद्धार्पणका साथ मनाइएको छ । नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको आयोजना र सांस्कृतिक संस्थानको विशेष प्रस्तुतिसँगै संस्थानको मिनी हलमा स्मृति दिवस मनाइएको हो । नेपाल मगर विद्यार्थी संघका अध्यक्ष राजु पुन मगरज्यूको सभाध्यक्षता, सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको प्रमुख आतिथ्यता, नेपाल मगर संघ केन्द्रीय समितिका सहअध्यक्ष श्री गंगा बहादुर थापा मगर ज्यू र वरिष्ठ संस्कृतिविद् श्री बमकुमारी बुढा मगरज्यूको विशिष्ट आतिथ्यता, नेपाल मगर संघ केन्द्रीय समितिका उपाध्यक्षज्यूहरू, उपमहासचिवज्यूहरू, मगर संघका विभिन्न भातृ संस्थाका प्रमुखज्यूहरू, नेपाल मगर सांस्कृतिक संघका अध्यक्ष श्री दिपसार थापा मगर ज्यू, अन्य संस्थाका प्रमुखहरू, रासस प्रतिनिधि नारायण ढुंगाना ज्यू, अरूण स्मृति प्रतिष्ठानका अध्यक्ष श्री सन्दन थापा मगर ज्यू लगायतको आतिथ्यता रहेको थियो । सांस्कृतिक संस्थानका कलाकारद्वारा उच्च सम्मानका साथ श्रद्धार्पण भाव सम्प्रेषण हुने गरी स्व.अरूण थापाप्रति समर्पित गीति नाटक ऋतुहरूमा तिमी सहित उहाँद्वारा स्वरबद्ध कालजयी गीतहरू प्रस्तुतीकरणसँगै स्मृति दिवस मनाइएको हो ।
सिर्जनशील कला मार्फत राष्ट्रलाई अतुलनीय योगदान दिनुहुने राष्ट्रिय व्यक्तित्वहरूको सम्मानार्थ विभिन्न व्यक्तित्वहरूको स्मृति दिवस विशेष कार्यक्रम सांस्कृतिक संस्थानले आ.व.२०८२/८३ को नीति तथा कार्यक्रममा समेटेकाले सोही अन्तर्गत स्व.अरूण थापा स्मृति दिवस समावेश गरिएको थियो । स्व.अरूण थापाको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै उहाँको तस्बिरमा माल्यार्पण गरी कार्यक्रम सुरुवात गरिएको थियो । सो स्मृति दिवस कार्यक्रममा स्व.अरूण थापाप्रति समर्पित गीति नाटकः ऋतुहरूमा तिमी – (निर्देशनः रामभजन कामत, संयोजकः सवनम सिलवाल, संवादः दिपक आलोक, प्रत्यक्ष गायन : विपिन घिमिरे, रचनाः राजेन्द्र रिजाल, संगीतः राम थापा ), डकुमेन्ट्री (स्व.अरूण थापाज्यूप्रति समर्पित) प्रस्तुत, चोट के हो – गायन प्रस्तुति (प्रत्यक्ष गायनः शिला विष्ट, रचनाः शुभाषचन्द्र ढुंगेल, संगीतः अरूण थापा), तिमी हेर्छौ भने – गायन प्रस्तुति (प्रत्यक्ष गायनः टिका मगर, रचनाः दिपक बुढाथोकी, संगीतः अरूण थापा), जति माया लाए पनि – गायन प्रस्तुति (प्रत्यक्ष गायनः राधिका भण्डारी, रचनाः विनोद गौचन, संगीतः अरूण थापा), आँखाको नीद – गायन प्रस्तुति (प्रत्यक्ष गायनः तिर्थ राज पोख्रेल, रचनाः विक्रम गुरुङ, संगीतः अरूण थापा), भुलुँ भुलुँ लाग्यो मलाई – गायन प्रस्तुति (प्रत्यक्ष गायनः गायत्री राना मगर, रचना/संगीतः विक्रम गुरूङ), साँझको जूनसँगै – गायन प्रस्तुति (प्रत्यक्ष गायनः दिपेन्द्र बज्राचार्य, रचनाः किशोर गुरुङ, संगीतः अरूण थापा) प्रस्तुत गरिएको थियो । नरसिंलाल श्रेष्ठ, दुर्गाप्रसाद खतिवडा, सितामैया राजचल, नरेश प्रजापति, लोकराज राई, सुक्रिमाया मोक्तान र गेम थापाले वादनमा साथ दिनुभएको थियो । कार्यक्रमको संयोजन सांस्कृतिक संस्थानका कार्यक्रम तथा योजना शाखा संयोजक रेखा कुमारी कटुवालले गर्नुभएको थियो ।
प्रमुख अतिथि महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले मन्तव्य राख्नुहुँदै भन्नुभयो :–
“भनिन्छ कला नभएको मानव, मानव हुन सक्दैन । अलौकिक एवम् अद्भुत क्षमता, बौद्धिकता, कौशलता र रचनात्मक क्रियाकलापद्वारा विभिन्न कला अभिव्यक्त गर्ने लोकोत्तर प्राणी कलाकार हो । संसारमा कहिल्यै नमर्ने प्राणी संसारमा कोही छ भने त्यो सिर्जनशील प्राणी कलाकार नै हो कि जो मरेर गएपनि ऊ आफ्ना कृतिहरू मार्फत जीवित रहिरहन्छ । एक सिर्जनशील प्राणीका कृतिहरू सभ्य संस्कृति समाजमा सम्प्रेषण गर्दै सामाजिक तथा सांस्कृतिक रूपान्तरणका लागि सदा अजर–अमर रहिरहन्छन् । सिर्जनशील कला मार्फत आफ्नो सारा जीवन समर्पण गरी राष्ट्रलाई अतुलनीय योगदान पुर्याउनु हुने दिवंगत राष्ट्रिय व्यक्तित्व स्व.अरुण थापाको २६ औं स्मृति दिवसमा हामी छौं । यो देशको अस्तित्व बचाउन जीवन समर्पण गर्ने नेपाली साङ्गीतिक आकाशका एक नक्षेत्र, एक राष्ट्रिय धरोहर स्व.अरुण थापालाई हरनेपाली तथा राज्यले सदा उच्च सम्मानका साथ खोजी गर्नुपर्छ । उहाँको स्मृति दिवस राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म छरिएर रहेका हरेक नेपालीले मनाउने संस्कृतिको विकास गरिनुपर्छ । उहाँको योगदानको पुस्तौंपुस्तासम्म अक्षुण्ण रूपमा पुस्तान्तरण हुनुपर्छ । स्मृति दिवस भन्नु नै मृत्मात्माको उच्च सम्मान स्वरूप श्रद्धार्पण गर्नु हो । त्यसमा पनि सिर्जनशील कला भएका प्राणीहरूको स्मृति दिवसलाई श्रद्धापूर्वक सांगीतिक श्रद्धार्पण गरिनुपर्छ । आजका सम्पूर्ण प्रस्तुतिले स्व.अरुण थापाज्यूप्रति उच्च सम्मान भएको महसुस मैले गरेको छु । सजीव कला मार्फत प्रत्यक्ष प्रस्तुतीकरण गर्नुहुने सबै कलाकारप्रति हार्दिक आभार प्रकट गर्दछु । स्व.अरुण थापालाई राष्ट्रिय व्यक्तित्वको रूपमा स्थापित गर्नु, उहाँको प्रतिलिपि अधिकार, बौद्धिक अधिकारको संरक्षण गर्नु, राज्यबाट न्यायोचित शिष्टाचारको सम्मान दिलाउनु नै मुख्य शर्तहरू हुन् । यी विषयमा गम्भीरतापूर्वक चिन्तन गर्न सकेनौं भने यहाँ हजारौं अरुण थापाहरूको अस्तित्व संकटमा पर्नेछ । तसर्थ सरोकारवाला निकायको यसतर्फ ध्यान जान जरुरी छ । लोकतान्त्रिक पद्धति अनुरूप सम्पूर्ण जातजातिका संस्कृतिलाई समान रूपमा वकालत गर्नु मेरो जिम्मेवारी हो । तर आजको यो परिवेश अनुसार मैले भन्नैपर्छ कि आदिवासी जनजातिमा जनसंख्याको हिसाबले पहिलो स्थानमा रहेको मगर समुदाय, ५० लाख मगरहरूको आशीर्वाद लिएर हिँड्ने म एक सदस्य भएको नाताले पुर्खाको विरासतलाई कायम राख्दै कर्तव्यनिष्ठ भई जिम्मेवारी वहन गर्दाको परिणाम संस्थानमा भएको प्रगति पानीजस्तै छर्लङ्ग छ । आज तपाईंहरूले गर्वका साथ भन्ने ठाउँ छ कि मृत्युशैयामा रहेको सांस्कृतिक संस्थानमा हाम्रो सन्ततिले इमानदारिता र स्वाभिमान कायम गर्दा गत आवकोे तुलनामा ६९.४७ प्रतिशत आम्दानीमा वृद्धि भएको छ । नेपाल मगर संघ मातृ संस्था भएकाले नेपाल मगर विद्यार्थी संघलाई पुर्खाको विरासतयुक्त सभ्य संस्कृति हस्तान्तरण गरी सही स्कुलिङ गर्न नसके ठूलो मूल्य चुकाउनुपर्ने तर्फ जोड दिँदै प्राज्ञिक क्षेत्रको प्रतिनिधित्व गर्ने यी विद्यार्थी काँचो माटो भएकाले कसरी सत्मार्गमा अग्रसर गराउने त्यो जिम्मा नेपाल मगर संघले लिनुपर्छ । “भाइ फुटे, गँवार लुटे” उखानलाई शिरोपर गर्दै मगर समुदायले आफ्नो जातिलाई मात्र होइन सम्पूर्ण समुदायलाई समेत राष्ट्रिय एकताको सूत्रमा बाँध्ने प्रेरकको काम गर्नुपर्छ । वर्तमान परिवेशमा डिजिटलयुगसँगै वैश्वीकरण (विश्वव्यापीकरण वा भूमण्डलीकरण) को प्रभावले संस्कृति हराउँदै गएकाले सिर्जनशील क्षमता भएका प्राणीहरूले आफ्ना सिर्जना मार्फत नवजागरण पैदा गरी सामाजिक सद्भाव तथा राष्ट्रिय एकताका भावनाहरू अभिव्यक्त गरी जनमानसलाई एकताबद्ध गर्न सक्छन् । तसर्थ सिर्जनशील प्राणीहरूको संरक्षणका लागि स्पष्ट राज्यनीति अपरिहार्य छ । सिर्जनशील कला मार्फत राष्ट्रलाई अतुलनीय योगदान पुर्याउने स्व.अरुण थापाजस्ता राष्ट्रिय धरोहरलाई युगौंयुग बचाउने स्पष्ट राज्यनीति हुनुपर्छ । त्यसमा सांस्कृतिक संस्थान सदा प्रतिबद्ध छ ।”
विशिष्ट अतिथि नेपाल मगर संघको सहअध्यक्ष श्री गंगा बहादुर थापा मगरज्यूले स्व.अरूण थापालाई राष्ट्रियकरण गर्न सांस्कृतिक संस्थानले पुलको काम गरेकोमा आभार प्रकट गर्दै उहाँ सबै नेपालीको साझा सम्पत्ति भएकाले स्व.अरूण थापालाई राष्ट्रले उचित स्थान दिनुपर्ने धारणा राख्नुभयो । त्यस्तै वरिष्ठ संस्कृतिविद् श्री बमकुमारी बुढा मगरज्यूले नेपाल मगर विद्यार्थी संघले नेपाल सरकारको निकाय सांस्कृतिक संस्थानसँग समन्वय गरी कार्यक्रम गर्नुले स्व.अरूण थापा राष्ट्रिय व्यक्तित्व भएको पुष्टि गरेको तर्फ जोड दिनुभयो । त्यस्तै परिवारजनका तर्फबाट अरूण थापा स्मृति प्रतिष्ठानका श्री सन्दन थापा मगरज्यूले स्व.अरूण थापा मगरज्यूलाई स्मरण गर्दै नेपाल सरकारको सांस्कृतिक संस्थानले आफ्नो नीति तथा कार्यक्रममा स्मृति दिवस राख्नुभएकोमा हार्दिक आभार प्रकट गर्नुभयो भने नेपाल मगर सांस्कृतिक संघका अध्यक्ष श्री दिपसागर थापा मगरज्यूले स्व.अरूण थापा मगरको रोयल्टी बारे आवाज उठाउनुपर्ने धारणा राख्नुभयो । नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिका निवर्तमान अध्यक्ष श्री चित्र पुलामी मगरज्यूले शैक्षिक जागरण गर्नुपर्ने तथा स्व.अरूण थापालाई राष्ट्रियकरण गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा स्व.अरूण थापा स्मृति पुरस्कार श्री केसरी घर्ती मगरलाई प्रदान गरिएको थियो भने परिवारजनको तर्फबाट श्री सन्दन थापा मगरलाई सम्मान गरिएको थियो । अन्य थुप्रै सिर्जनशील क्षमता भएका व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो ।
स्वागत मन्तव्य नेपाल मगर विद्यार्थी संघका उपाध्यक्षज्यूले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिवज्यूले गर्नुभएको थियो । कार्यक्रम समापन गर्नुहुँदै नेपाल मगर विद्यार्थी संघका अध्यक्ष श्री राजु पुन मगरज्यूले उपस्थित सम्पूर्णलाई आभार प्रकट गर्दै सांस्कृतिक संस्थानको नीति तथा कार्यक्रममा अरूण स्मृति दिवस समेटिनु गौरवको कुरा भएको तथा स्व.अरूण थापा सबै नेपालीको साझा व्यक्ति भएकाले उहाँको रक्षा गर्नु सबैको दायित्व रहेको धारणा राख्नुभयो ।