नाग पञ्चमी पर्वको शुभकामना

नाग पञ्चमी पर्वको शुभकामना


 

नाग पञ्चमी पर्वको शुभकामना


नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताभित्र एकता भएको देश भएकाले अनेकतामा एकताको सूत्रमा बाँध्न सांस्कृतिक चाडपर्वको प्रमुख भूमिका रहन्छ। संस्कृतिलाई जीवन्त राख्ने माध्यम पनि चाडपर्व हुन् ।

नाग पञ्चमी श्रावण शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ । यस दिनमा नागको पूजा गर्ने गरिन्छ। नाग पञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो । यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना पनि गरिन्छ । नाग पञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ । नागका अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंखनाग गरी अष्टनागको चित्र टाँस्नाले उक्त घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डर समेत नहुने धार्मिक विश्वास रहेको छ । ज्योतिष शास्त्र अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् र आजको दिन कुनै शुभ तथा मांगलिक कार्य गर्न साइत हेर्नु पर्दैन । पातालमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने भएकाले नाग पञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ । नेपाली संस्कृतिमा मानिसको मात्र होइन पशुपन्छी र जीवजन्तुको पनि उत्तिकै महŒवपूर्ण स्थान रहेको छ भन्ने यस पर्वले पुष्टि गर्दछ । नागलाई सहकालको देवताको रूपमा मान्ने, नाग प्रसन्न भएमा पानी पर्ने तथा कुनै पनि घर, गोठ निर्माण गर्दा भूमिमा नाग देवताको बास भए आजकै दिनमा विधिवत् पूजाआजा गरी पन्छाए नागको दोषबाट मुक्त हुने समेत धार्मिक विश्वास रहेको छ ।

यस पर्वसँग धार्मिक, सामाजिक, सांस्कृतिक तथा वैज्ञानिक महत्त्व जोडिएको पाइन्छ । प्रकृतिमा भएका विषालु पदार्थलाई नागले ग्रहण गरी मानव जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएकाले पर्यावरण संरक्षणमा नागको विशेष भूमिका हुन्छ । यसर्थ नागको महिमालाई बुझाउन पनि नाग पञ्चमी पर्व मनाउने गरिएको हो। नाग पञ्चमीमा धार्मिक तथा सांस्कृतिक विधि अनुरूप नाग देवताका निम्ति व्रत बस्ने पनि गरिन्छ । यस पर्वसँग जोडिएका थुप्रै किंवदन्तीले मानव जीवनका लागि ऊर्जाशील सन्देश प्रदान गर्दछन् ।  

मौलिक सांस्कृतिक चाडपर्वहरूको संरक्षण, संवर्द्धन, प्रवर्द्धन र पुस्तान्तरणका लागि नेपाल सरकारको ज्येष्ठ निकाय सांस्कृतिक संस्थान सदा प्रतिबद्ध छ । यस पर्वले हरेक नेपालीहरू बीच आपसी सद्भाव तथा राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न सकोस् भन्ने शुभेच्छा सहित नाग पञ्चमी पर्व २०८२ को शुभकामना व्यक्त गर्दछु ।    

१३ साउन २०८२
ने.सं.११४५ गुंलाथ्व पञ्चमी 
किरण बाबु पुन  
महाप्रबन्धक     
                                                                                                                                   
                                                                                                                                                                        

 

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij