३१ औं विश्व आदिवासी जनजाति दिवसको शुभकामना
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताभित्र एकता भएको देश भएकाले अनेकतामा एकताको सूत्रमा बाँध्न संस्कृतिको प्रमुख भूमिका रहन्छ। विभिन्न जातजातिको मौलिक संस्कृति मार्फत राष्ट्रको पहिचान अन्तर्राष्ट्रियस्तरसम्म सम्प्रेषण हुने गर्दछ ।
संयुक्त राष्ट्र संघले सन् १९९४ लाई विश्वभरी रहेका आदिवासी जनजातिहरूको अन्तर्राष्ट्रिय वर्षको रूपमा घोषणा गरी हरेक वर्ष अगस्ट ९ को दिन विश्व आदिवासी दिवस रूपमा मनाउने निर्णय गरेसँगै यो दिवस मनाउन थालिएको हो । आफ्नो मौलिक संस्कृति रक्षा गर्न र शिक्षा, स्वास्थ्य, आर्थिक समृद्धि, सामाजिक विकास एवम् मानव अधिकार जस्ता विषयमा सुदृढीकरण गर्न विश्व आदिवासी जनजाति दिवस मनाउने गरिन्छ ।
नेपालमा गणतन्त्र स्थापनापछि आदिवासीहरूलाई आधिकारिक रूपमा आदिवासी जनजातिहरूको रूपमा वर्णन गरिएको हो। नेपालमा ठूलो जनसंख्यामा आदिवासी जनजातिहरू बसोबास गर्दछन्। सातै प्रदेशमा बसोबास गर्ने आदीवासी जनजातिहरूका आ–आफ्नै पहिचानयुक्त मौलिक संस्कृति छन्। आदिवासी जनजातिहरूले परम्परागत सीप तथा ज्ञान एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै आएको र पुर्खौंदेखि जीविकोपार्जनका लागि प्रकृतिमा निर्भर रहेकाले परम्परागत भूभागहरूमा जलवायु परिवर्तनको प्रभाव पर्दै गएकाले प्रकृतिको रक्षार्थ पनि यो दिवसलाई जागरणमैत्री ढंगले मनाउने गर्दछन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म ठूलाठूला परिवर्तनहरू, नेपालको ऐतिहासिक सभ्यता विकास, श्रम संस्कृति विकास एवम् राष्ट्र निर्माणमा आदिवासी जनजातिहरूको प्रमुख भूमिका रहेको छ ।
नेपाल सरकारले आदिवासी जनजातिका अधिकार तथा पहिचान रक्षार्थ विभिन्न निकायहरू स्थापना गरेको छ। संस्कृति नरहे कुनैपनि राष्ट्रको अस्तित्व रहँदैन । तसर्थ मौलिक संस्कृतिका धनी आदीवासी जनजातिहरूका पहिचानयुक्त संस्कृति रक्षा गरी राष्ट्रको अस्तित्व बचाउनु आधारभूत शर्त हो। नेपालको संविधान र गणतन्त्रको मूलमर्म बमोजिम नेपालमा बसोबास गर्ने सबै जातजातिको मौलिक संस्कृति संरक्षण, संवर्द्धन, प्रवर्द्धन र पुस्तान्तरणका लागि नेपाल सरकारको ज्येष्ठ निकाय सांस्कृतिक संस्थान सदा प्रतिबद्ध रहँदै विश्व आदिवासी दिवसलाई आफ्नो नीति तथा कार्यक्रममा समेटेको छ । यस दिवसले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सद्भाव तथा एकताको भावना अभिवृद्धि गर्न सकोस् भन्ने शुभेच्छा सहित ३१ औं विश्व आदिवासी दिवसको शुभकामना व्यक्त गर्दछु ।
२४ साउन २०८२
ने.सं.११४५ गुंलाथ्व पुन्हि
किरण बाबु पुन
महाप्रबन्धक