रक्षा बन्धन तथा जनै पूर्णिमाको शुभकामना

रक्षा बन्धन तथा जनै पूर्णिमाको शुभकामना


 

 

रक्षा बन्धन तथा जनै पूर्णिमाको शुभकामना 


नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताभित्र एकता भएको देश भएकाले अनेकतामा एकताको सूत्रमा बाँध्न सांस्कृतिक चाडपर्वको प्रमुख भूमिका रहन्छ। संस्कृतिलाई जीवन्त राख्ने माध्यम पनि चाडपर्व हुन् । हरेक चाडपर्व तथा चाडपर्वसँग जोडिएका किंवदन्तीले मानवलाई सत्मार्गतर्फ डो¥याउन प्रेरणा प्रदान गर्दछ।

हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन रक्षा बन्धन एवम् जनै पूर्णिमा मनाइन्छ । दिदीबहिनी र दाजुभाइ बीचको अटुट प्रेमलाई दर्शाउने पर्व रक्षाबन्धनमा दिदीबहिनीले दाजुभाइको नाडीमा राखी बाँधी दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दछन् । हिन्दू धर्मावलम्बीहरूले मनाउने एउटा पवित्र पर्वको रूपमा रक्षा बन्धन तथा जनै पूर्णिमालाई लिइन्छ। ‘रक्षा र बन्धन” को अर्थ दाजुभाइले दिदीबहिनीको रक्षा गर्ने तथा दाजुभाइ र दिदीबहिनीको सम्बन्धको बन्धन पवित्र एवम् अटुट हुने भन्ने हुन्छ। यस पर्वसँग थुप्रै प्रेरणादायक किंवदन्तीहरू जोडिएको पाइन्छ । 

रक्षा बन्धन तथा जनै पूर्णिमा पर्वसँग मौलिक सांस्कृतिक, सामाजिक तथा धार्मिक पक्ष जोडिएको छ । यस  दिन मास, भटमास, मुगी, केराउ, मस्याङ, चना, सिमी, टाटे सिमी र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने प्रचलन रहेको छ । नेपाल कृषिप्रधान देश भएकाले कृषकहरू खेतीपातीका क्रममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा उमारिएको पौष्टिक तŒवयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसँग जोडिएको पर्वका रूपमा पनि लिइन्छ । धार्मिक परम्परा अनुसार यस दिन बिहानै नजिकैको नदी, तलाउ तथा कुण्डमा स्नान गरी गुरुबाट मन्त्रिएको जनै धारण गर्दै आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने पनि प्रचलन रहेको छ । यसैगरी यस दिन देह शुद्ध गरी देवता, सप्तऋषि (कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नी, वशिष्ठ र विश्वामित्र) तथा पितृहरूको नाममा तिल, कुश सहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले समेत चिनिन्छ ।

मौलिक सांस्कृतिक चाडपर्वहरूको संरक्षण, संवर्द्धन, प्रवर्द्धन र पुस्तान्तरणका लागि नेपाल सरकारको ज्येष्ठ निकाय सांस्कृतिक संस्थान सदा प्रतिबद्ध छ । यस पर्वले हरेक नेपालीहरू बीच आपसी सद्भाव तथा राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न सकोस् भन्ने शुभेच्छा सहित रक्षा बन्धन तथा जनै पूर्णिमा पर्व २०८२ को शुभकामना व्यक्त गर्दछु ।    
                                                                                                                                   
२४ साउन २०८२
ने.सं.११४५ गुंलाथ्व पुन्हि 
किरण बाबु पुन   
महाप्रबन्धक                                                                                                                                                                                                                                                                                                                                                                     

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij