श्रीकृष्ण जन्माष्टमी पर्वको शुभकामना

श्रीकृष्ण जन्माष्टमी पर्वको शुभकामना


 

 

श्रीकृष्ण जन्माष्टमी पर्वको शुभकामना


नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताभित्र एकता भएको देश भएकाले अनेकतामा एकताको सूत्रमा बाँध्न सांस्कृतिक चाडपर्वको प्रमुख भूमिका रहन्छ। संस्कृतिलाई जीवन्त राख्ने माध्यम पनि चाडपर्व हुन् । चाडपर्वसँग जोडिएका किंवदन्तीले मानव जीवनलाई हितकर प्रेरणादायक सन्देश सम्प्रेषण गर्दछन् ।

हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउने प्रचलन रहेको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको दिनमा भएको मान्यता अनुरूप यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका रूपमा मनाइने गरिन्छ। यस दिन देशैभरी कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ । यस पर्वसँग जोडिएका थुप्रै धार्मिक किंवदन्ती अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनु भएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको जनविश्वास रहेको छ। वृन्दावनमा बाँसुरी बजाएर नाच्नु, इन्द्रदेखि ब्रह्मासम्मको घमण्ड चूर गर्नु, कंश, शिशुपाल, चाणूर र मुष्टि जस्ता राक्षसहरूको बध गर्नु जस्ता अनेकौँ लीलाहरू श्रीकृष्ण चरित्र अन्तर्गत पर्दछन् । श्रीकृष्ण जन्माष्टमी पर्वले मन, वचन र कर्म पवित्र राख्नुपर्ने संस्कृति सम्प्रेषण गर्दछ । 

पौराणिक कथन अनुसार कौरव र पाण्डवका बीचमा कुरू क्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डव मध्येका अर्जुनको सारथीका रूपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई सत्यको पक्षमा हौसला प्रदान गर्दै दिएको उपदेश नै ‘श्रीमद्भगवत् गीता’ लाई लिइने भएकाले यसलाई हिन्दू धर्मको पवित्र ग्रन्थ मानिन्छ । साथै आजकै दिन गोरखाली पूजा पनि भएकाले यस पूजाको नेपाली इतिहासमा बेग्लै महत्त्व छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ । 

हरेक जातजाति तथा धर्मावलम्बीहरूको मौलिक सांस्कृतिक चाडपर्वहरूको संरक्षण, संवर्द्धन, प्रवर्द्धन र पुस्तान्तरणका लागि नेपाल सरकारको ज्येष्ठ निकाय सांस्कृतिक संस्थान सदा प्रतिबद्ध छ । यस पर्वले हरेक नेपालीहरू बीच आपसी सद्भाव तथा राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न सकोस् भन्ने शुभेच्छा सहित श्रीकृष्ण जन्माष्टमी पर्व २०८२ को शुभकामना व्यक्त गर्दछु ।    
                                                                                                                                   
३१ साउन २०८२  
ने.सं.११४५ गुंलागा अष्टमी   
किरण बाबु पुन    
महाप्रबन्धक                                                                                                                                                                                                                                                                                                                                                            

 

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij