तिहार पर्वको शुभकामना
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताभित्र एकता भएको देश भएकाले अनेकतामा एकताको सूत्रमा बाँध्न सांस्कृतिक चाडपर्वको प्रमुख भूमिका रहन्छ । संस्कृतिलाई जीवन्त राख्ने माध्यम पनि चाडपर्व हुन् । चाडपर्वसँग जोडिएका किंवदन्तीले मानव जीवनलाई हितकर प्रेरणादायक सन्देश सम्प्रेषण गर्दछन् । प्राचीनकालदेखि चाडपर्वले समाजलाई सत्मार्ग तर्फ डोेर्याउँदै ल्याएको छ । 
तिहार नेपालीहरूको महान् सांस्कृतिक चाड हो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मको अवधि तिहार हो । पाँच दिनसम्म मनाइने भएकाले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । किंवदन्ती अनुसार यमराजले बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको पाँच दिनलाई यमपञ्चक भनिएको हो । तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्रण गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको पवित्र स्नेहरूपी सम्बन्धलाई चित्रण गर्दछ । यमपञ्चकमा क्रमशः काग तिहार, कुकुर तिहार, गाई तिहार, लक्ष्मी पूजा, गोवद्र्धन पूजा र भाइटीका पर्दछन् । नेपाल कृषि प्रधान देश भएकाले तिहार पर्वको सांस्कृतिक पक्ष कृषिसँग जोडिएको पाइन्छ । तिहार पर्वको सेरोफेरोमा अन्न भित्र्याउने समयको आगमन सुरु हुनेहुँदा कृषकमा खुशी–उमङ्ग छाएको हुन्छ । यस अवसरमा अन्न धेरै प्राप्ति होस् भनी धनकी देवी लक्ष्मीको पूजा आराधना गर्ने प्रचलन छ ।  
  
भाइटीका तिहारको अन्तिम दिन विशेष उत्साहका साथ मनाइन्छ । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई विशेष मान–सम्मानका साथ विधिपूर्वक पूजा गर्ने, दाजुभाइको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको कामना गर्दै सप्तरङ्गी टीका र मखमली तथा सयपत्रीको माला लगाइदिने, मिष्ठान्न भोजन खुवाउने र दाजुभाइले दिदीबहिनीलाई आफ्नो गच्छेअनुसारको दान–दक्षिणा दिने प्राचीनकालदेखि नै सांस्कृतिक परम्परा रहेको छ । तिहारको पर्वको विशेष आकर्षण देउसी–भैलो पनि हो । लक्ष्मी पूजाको दिन केटीहरूले भैली खेल्ने र त्यसको भोलिपल्टदेखि केटाहरूले देउसी खेल्ने सांस्कृतिक परम्परा भए पनि हाल सामाजिक तथा सांस्कृतिक रूपान्तरणसँगै केटाकेटीले सामूहिक रूपमा देउसी–भैली खेल्ने प्रचलन छ । 
डिजिटल युग र वैश्वीकरणको प्रभावले चाडपर्वमा विकृतिसँगै आधुनिकताको नाममा चाडपर्वको मौलिकता सङ्कटमा पर्न थालेको छ । चाडपर्वका सभ्य परम्परालाई शिरोपर गर्दै कुप्रथालाई जरैदेखि निर्मूलन गरी सांस्कृतिक चाडपर्वको गरिमा नयाँ पुस्तामाझ सम्प्रेषण गर्नु आजको आवश्यकता हो । मौलिक सांस्कृतिक चाडपर्वहरूको संरक्षण, संवर्द्धन, प्रवर्द्धन र पुस्तान्तरणका लागि नेपाल सरकारको ज्येष्ठ निकाय सांस्कृतिक संस्थान सदा प्रतिबद्ध छ । यस पर्वले नेपालीहरू बीच आपसी सद्भाव तथा राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्नुका साथै हरेक विषम परिस्थितिको सामना गर्ने ऊर्जा प्रदान गर्न सकोस् भन्ने शुभेच्छा सहित तिहार पर्व २०८२ को शुभकामना व्यक्त गर्दछु ।
                                                                                                                                       
३ कार्तिक २०८२
ने.सं.११४५ कौलागा चतुर्दशी  
                                                                                                                                                                                                                                        
किरण बाबु पुन  
महाप्रबन्धक
                                                                                                                       
 
                                 
                             
                             
                                 
 
                                 
                                            