गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता र सांस्कृतिक संस्थानका महाप्रबन्धक बीच शिष्टाचार भेटघाट
८ वैशाख २०८३ काठमाडौँ ।
सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता श्री सोम सापकोटा ज्यू सँग संवत् २०८३ साल वैशाख ८ गतेका दिन संस्थानको कार्यालय जमल, काठमाडौँमा शिष्टाचार भेटघाट गर्नुभएको छ ।


भेटघाटमा संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले नेपालको गौरव संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्दै “अतिथि देवो भवः” को मूल भाव सहित विदेशी नागरिकलाई नेपाल भ्रमण गर्न प्रेरित गरी “सांस्कृतिक पर्यटन” विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रति आभार प्रकट गर्नुहुँदै संस्कृति आदानप्रदानको कार्यक्रमलाई डिजिटल प्रविधिमैत्री ढंगले दीर्घकालीन रणनीतिका रूपमा अगाडि बढाउनु पर्ने तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का करिब ९० वटा देशहरूमा स्थापना गरेका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को समेत सहकार्य रहने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल पर्यटन बोर्ड, सांस्कृतिक संस्थान, नेपाल नागरिक उड्डयन प्राधीकरण, नेपाल वायु सेवा निगम र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान लगायतका सम्बन्धित निकायको सहकार्य हुनेगरी कम्तीमा पञ्च वर्षीय कार्ययोजना सहित सम्झौता गरी सांस्कृतिक पर्यटनका लागि प्रभावकारी नीति तथा कार्यक्रम तय गर्नुपर्ने धारणा राख्नु भएको थियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता श्री सोम सापकोटाज्यूले राष्ट्रिय नाचघर हुँदा आफूले गीति नाटक मुनामदन हरेको संस्मरण गर्नुहुँदै नेपाल सरकारको उच्च गरिमा बोकेको सांस्कृतिक संस्थानसँग सहकार्य गरी संस्कृति आदानप्रदानबाटै सांस्कृतिक पर्यटनको विकास हुने नीति तथा कार्यक्रम सु–सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

शिष्टाचार भेटघाटमा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक श्री हिकमतसिंह ऐर ज्यू, सगरमाथा फाउन्डेसनका अध्यक्ष समाजसेवी श्री सावित्री अधिकारी ज्यू र टिभी नेशनल नेटवर्कका अध्यक्ष श्री लक्ष्मण हुमागाईंको समेत सहभागिता रहेको थियो ।

वि.सं.२०१६ सालमा स्थापित ‘राष्ट्रिय नाचघर’ समग्र नेपाली संस्कृतिको संस्थागत विकासका लागि नाम परिमार्जन सहित वि.सं.२०२९ सालमा पुनर्गठन भएकोे सांस्कृतिक संस्थान नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत संस्कृति प्रदर्शनी सम्बन्धी एकमात्र ज्येष्ठ एवम् आधिकारिक निकाय हो । अनेकन् समस्याले ग्रसित सांस्कृतिक संस्थान पछिल्लो समय महाप्रबन्धक श्री किरण बाबु पुनले नेतृत्व सम्हालेसँगै प्रगतितर्फ लम्किरहेको छ । आफ्नो ऐतिहासिक विरासत कायम राख्न सांस्कृतिक संस्थान पछिल्लो समय डिजिटल युगसँगै नयाँ शिराबाट अगाडि बढेको छ । सांस्कृतिक संस्थानले नेपाल सरकार अर्थ मन्त्रालयको “सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा – २०८२” को प्रतिवेदन अनुसार देशैभरीका सामाजिक क्षेत्र अन्तर्गतका संस्थानहरू मध्ये एकमात्र उत्कृष्ट निकायको रूपमा स्थापित गर्दै ६९.४७ प्रतिशतका दरले आम्दानी वृद्धि गर्न सफल भएको थियो ।