नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) र सांस्कृतिक संस्थान बीच सम्झौता (MOU)
१३ साउन २०८३ काठमाडौँ ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना [Sustainable Tourism Project (STP)] (प्रथम पक्ष) र सांस्कृतिक संस्थान (दोस्रो पक्ष) बीच “अपी साइपाल, कञ्चनजङ्घा, जनकपुर, मनास्लु र लुम्बिनी पदमार्गहरूको दिगो पर्यटन परियोजना (STP) को लागि सांस्कृतिक प्रदर्शन प्याकेज विकास” गर्न संस्थानले साझेदार संस्था (Implementation Partner) को जिम्मेवारी वहन गर्ने गरी सम्झौता गरिएको छ । संवत् २०८३ साल साउन १३ गतेका दिन नेपाल पर्यटन बोर्डमा आयोजित “ हस्ताक्षर समारोह” मा उक्त सम्झौता गरिएको हो । यस गौरवको परियोजनामा गत आ.व.मा पहिलोपटक संस्थान साझेदार संस्थाको रूपमा जोडिएर अपी साइपाल र कञ्चनजङ्घा पदमार्गहरूको सांस्कृतिक प्रदर्शन प्याकेजको सैद्धान्तिक रूपरेखा तयार पारेको थियो भने त्यसैको निरन्तरता स्वरूप यस आ.व.मा यसलाई व्यावहारिक रूपमा लागू गरिनेछ । साथै, जनकपुर, मनास्लु र लुम्बिनी पदमार्गहरूको दिगो पर्यटन परियोजना (STP) को लागि सांस्कृतिक प्रदर्शन प्याकेजको सैद्धान्तिक रूपरेखा तयार पारी व्यावहारिक रूपमा लागू गरिनेछ ।
सम्झौता पत्रमा हस्ताक्षर गर्नुहुँदै
सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू र परियोजना निर्देशक श्री हिकमत सिंह ऐर ज्यू
नेपाल संस्कृतिको दृष्टिकोणबाट अत्यन्तै समृद्ध राष्ट्र भएकाले नेपालमा बसोबास गर्ने हरेक जातजातिहरूका पहिचानयुक्त प्रदर्शनीयुक्त कलालाई सांस्कृतिक प्रदर्शन प्याकेजको रूपमा ब्रान्डिङ गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म प्रवर्द्धन गर्नसकेपछि मात्र सांस्कृतिक पर्यटनको विकास तथा स्वरोजगारको वातावरण निर्माण हुने आधारभूत शर्तलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न दिगो पर्यटन परियोजनाको तर्फबाट राष्ट्रिय परियोजना निर्देशक श्री हिकमत सिंह ऐर ज्यू, संयोजक श्री खड्ग बिक्रम शाह ज्यू, प्रबन्धक श्री धर्मराज दवाडी ज्यू र सांस्कृतिक संस्थानको तर्फबाट महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू, लेखा अधिकृत श्री प्रेम ध्वज जिसी ज्यू, कलाकार श्री रोहित सुवेदी ज्यू र बजार व्यवस्थापक श्री अनुपम शर्माज्यूको सहभागितामा सो परियोजना सम्बन्धी सम्झौता गरिएको हो ।


नेपालको विविधतायुक्त विशेषतालाई मध्यनजर गर्दै विभिन्न समुदायका प्रदर्शनीयुक्त कलाको सांस्कृतिक प्रदर्शन मोड्युलहरू विकास पश्चात् पिछडिएका समुदायको अस्तित्व रक्षा हुने तथा उनीहरूमा स्वरोजगारका अवसरहरू सिर्जना हुने विश्वास लिइएको छ । साथै, अभौतिक सांस्कृतिक सम्पदाभित्रका परम्परागत सीप, लोकगीत, लोकधून, लोकनृत्य, लोकनाटक, वाद्ययन्त्रहरू, अनुष्ठानहरू, चाडपर्वहरू, पोशाक बनाउने सीपहरू, मौखिक कथा वाचनको दस्तावेजीकरण हुने समेत विश्वास लिइएको छ । परियोजना मार्फत देशैभरीका स्थानीय सांस्कृतिक सम्पदा प्रवर्द्धन, सांस्कृतिक पर्यटनको विकास र संस्कृति मार्फत सामुदायिक जीविकोपार्जनलाई टेवा पुराई आर्थिकस्तर मजबुत बनाउने उद्देश्य राखिएको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अभिभावकत्वमा मन्त्रालय अन्तर्गत संस्कृति प्रदर्शनी सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थान र पर्यटन सम्बन्धी ज्येष्ठ निकाय नेपाल पर्यटन बोर्डको समन्वयमा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) को दिगो पर्यटन परियोजना [Sustainable Tourism Project (STP)] लाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न यस कार्ययोजनाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।


सम्झौता अनुसार सांस्कृतिक सम्पदालाई पर्यटन उत्पादनका रूपमा विकास गर्दै दुर्गम हिमाली गन्तव्यमा पर्यटकको बसाई लम्ब्याउने र स्थानीय समुदायलाई प्रत्यक्ष आर्थिक लाभ पुग्ने गरी विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । उक्त सम्झौता अनुसार २०८३ साउनदेखि २०८३ पुस १४ गतेसम्म परियोजना कार्यान्वयनको समयावधि तय गरिएको छ । सम्झौता अन्तर्गत अपि–साइपाल र कञ्चनङ्घा क्षेत्रमा सांस्कृतिक प्याकेज विकास तालिम, सांस्कृतिक कलाकार तथा स्रोत व्यक्तिको परिचालन, वाद्यवादन सामग्री र साउन्ड सिस्टम व्यवस्थापन, नमुना सांस्कृतिक प्रस्तुति, सांस्कृतिक प्याकेज प्रदर्शनी तथा स्थानीय सांस्कृतिक प्रस्तुतिको विकास गरिनेछ । यसका अतिरिक्त जनकपुर, मनास्लु र लुम्बिनीमा समेत सांस्कृतिक प्रदर्शन प्याकेज विकास कार्यक्रम सञ्चालन गरिनेछ ।
परियोजनामा फरक क्षमता भएका व्यक्तिहरूका लागि गायन तालिम, प्रतिभा प्रस्तुति र रेकर्डिङ कार्यक्रम समेत समावेश गरिएको छ । साथै सम्बन्धित क्षेत्रका सांस्कृतिक समूह बीच सांस्कृति आदान–प्रदान कार्यक्रम सञ्चालन गरी स्थानीय कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोड्ने योजना रहेको छ । सम्झौतापछि बोर्डका कार्यवाहक कार्यकारी प्रमुख ऐरले नेपालका हिमाली पदमार्गहरू प्राकृतिक सौन्दर्यका मात्र नभई जीवित संस्कृति र मौलिक पहिचानका केन्द्र भएकाले यस सहकार्यले पर्यटनलाई स्थानीय संस्कृतिसँग जोडेर नयाँ अनुभव सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो । संस्थानका महाप्रबन्धक पुनले नेपाल जस्तो विविधतायुक्त सांस्कृतिक विरासत भएको राष्ट्रमा दिगो पर्यटनका लागि आधारभूत स्रोत नै संस्कृति भएकाले संस्कृतिलाई पर्यटनसँग जोडेर सांस्कृतिक पर्यटनको विकासबाट मात्र दिगो पर्यटन परियोजनाले सार्थकता पाउने भएकाले त्यसतर्फ नयाँ इतिहासको शुभारम्भ यस सहकार्यले गर्ने विश्वास व्यक्त गर्नुभयो । परियोजनाले सांस्कृतिक सम्पदाको संरक्षणसँगै स्थानीय समुदायको सहभागितामा पर्यटन उत्पादनको विविधीकरण गरी नेपालका नयाँ गन्तव्यलाई अन्तर्राष्ट्रिय बजारमा थप प्रतिस्पर्धा बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।



