सांस्कृतिक संस्थानको गरिमामय ५४ औं वार्षिकोत्सव समारोह सभ्य-भव्य रूपमा सम्पन्न
५ असार २०८३ काठमाडौँ ।
सांस्कृतिक संस्थानको गरिमामय ५४ औं वार्षिकोत्सव सभ्य-भव्य रूपमा सम्पन्न गरिएको छ । संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको सभाध्यक्षतामा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री खडक राज पौडेल ''गनेस" ज्यूको प्रमुख आतिथ्यता, नृत्यशास्त्री श्री भैरव बहादुर थापा ज्यू र वरिष्ठ संस्कृतिविद् श्री बम कुमारी बुढाज्यूको विशिष्ट आतिथ्यता, नेपाल पर्यटन बोर्डका कार्यवाहक सिईओ श्री हिकमत सिंह ऐर ज्यू, दिगो पर्यटन परियोजनाका प्रबन्धक श्री धर्म दवाडी ज्यू, लोक सङ्गीत क्षेत्रका दिग्गज धरोहरहरू वरिष्ठ लोक गायक तथा गायिकाहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको आतिथ्यतामा सो समारोह सम्पन्न गरिएको हो l




सांस्कृतिक संस्थानको वार्षिकोत्सवको अवसरमा संस्कृति संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि विशेष योगदान पुऱ्याउने व्यक्तित्वहरूलाई प्रदान गरिने राष्ट्रिय सम्मान तथा पुरस्कार यसपटक ५४ औं वार्षिकोत्सवको अवसरमा दीर्घ साधना रु.५५,५५५/- (पचपन्न हजार पाँच सय पचपन्न), अन्य पुरस्कारहरूमा जनही रु.२५,५५५/- (अक्षरेपि पच्चीस हजार पाँच सय पचपन्न) सहित देहाय बमोजिमका स्रष्टालाई माननीय मन्त्रीज्यूको हातबाट संस्थानले सम्मान तथा पुरस्कार वितरण गरेको छ ।
१.सांस्कृतिक संस्थान राष्ट्रिय गायन सम्मान तथा पुरस्कार - श्री पुरुषोत्तम न्यौपाने
२.सांस्कृतिक संस्थान राष्ट्रिय वादन सम्मान तथा पुरस्कार - श्री जीवन आले
३.सांस्कृतिक संस्थान राष्ट्रिय नृत्य सम्मान तथा पुरस्कार - श्री वेद गुरुङ
४. सांस्कृतिक संस्थान राष्ट्रिय नाट्य सम्मान तथा पुरस्कार - श्री सम्राट सापकोटा
५.सांस्कृतिक संस्थान वर्ष उत्कृष्ट कर्मचारी सम्मान तथा पुरस्कार - श्री रेखा कुमारी कटुवाल श्रेष्ठ
६.सांस्कृतिक संस्थान राष्ट्रिय दीर्घ साधना सम्मान तथा पुरस्कार - श्री बम कुमारी बुढा




त्यसैगरी मा.मन्त्रीज्यूको हातबाट "सांस्कृतिक संस्थान कल्याणकारी कोष" मार्फत वरिष्ठ लोक गायक श्री रेशम थापाको उपचार सहायताका लागि रु.२५,०००/- (अक्षरेपि पच्चीस हजार) सहित शिष्टाचारको कदर पत्रले सम्मानित गरिएको छ । साथै, वरिष्ठ लोक गायक श्री राम प्रसाद खनाल ज्यू लाई लोक सङ्गीत क्षेत्रमा लामो समयदेखि पुर्याउनुभएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको छ भने मौलिक गायिका श्री भिमा सुवेदी ज्यू, इन्द्रेणी समाजका अध्यक्ष श्री कृष्ण कँडेल ज्यू, लोक सञ्चारकर्मीद्वय श्री चन्द्रमणी गौतम ज्यू र श्री कमल सरगम चौलागाईं ज्यू, रातोपाटीका कला तथा मनोरञ्जन संवाददाता श्री कुबेर गिरी ज्यू, रचनाकार श्री शशि शर्मा मजगैयाँ ज्यू लगायतलाई कदर पत्रद्वारा सम्मानित गरिएको छ । कार्यक्रममा संस्थानको आ.व.२०८२/८३ को वार्षिक प्रगति प्रतिवेदनको वृत्तचित्र प्रस्तुत गरिएको थियो । साथै, सजीव कला प्रदर्शनी सम्बन्धी अनुसन्धनात्मक जर्नल “संस्कृति अध्ययन” दोस्रो अंक र संस्थानको बुलेटिन “नेपाली संस्कृति” विमोचन गरिएको थियो । संस्थानका कलाकारहरूले संस्थानबाटै उत्पादन गरिएको चर्चित मौलिक गीत “साइँलो साइँली” मा नृत्य प्रस्तुत गरेका थिए ।



माननीय मन्त्री श्री खडक राज पौडेल "गनेस" ज्यूले संस्थानको गरिमामय ५४ औं वार्षिकोत्सवको शुभकामना व्यक्त गर्नुहुँदै प्रतिवेदनमा उल्लेख गरिएको दीर्घकालीन सोच संस्कृति र प्रकृति विषयक पक्षलाई जोड दिनुहुँदै संस्कृति र प्रकृति बीचको तादात्म्यता रहेन भने संस्कृति जीवन्त नहुने बताउनु भयो । प्रकृतिसँग नजोडिएको संस्कृति विकृति हुने भएकाले संस्कृति र प्रकृति गहिराई बुझ्नुपर्ने धारणा राख्नुभयो । साथै, संस्थानको छुट्टै सांस्कृतिक गरिमा भएकाले यसलाई जीवन्त राख्न अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाली कला, संस्कृति र परम्पराले नेपाललाई विश्वमाझ चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुहुँदै संस्कृतिको मूलभूत जड प्रकृति रहेको, संस्कृति भनेको प्रकृतिको सौन्दर्यका लागि प्रकृतिसँग संवाद गर्दै आएको निरन्तरको अभ्यास भएकाले जब त्यही संस्कृति प्रकृति, पर्यावरण र सभ्यताको विरुद्धमा हुन्छ तब विकृतिको सुरुवात हुने धारणा राख्नुभयो । उहाँले विगतमा हाम्रा पुर्खाले खुकुरी मार्फत देखाएको साहस र वीरताले देशको गरिमा बढाएकोमा अब कलाकारमा मात्र नेपालको कला, संस्कृतिको संरक्षण मार्फत देशको स्वाभिमान बढाउन र नेपाली हुनुको गर्वबोध गराउने क्षमता रहेको बताउनुभयो ।


संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले स्वागत मन्तव्य राख्नुहुँदै ६७ वर्षीय ऐतिहासिक सांस्कृतिक विरासत कायम राख्न सफल सांस्कृतिक संस्थान पछिल्लो समय संस्थानको कार्यप्रकृति बमोजिम संस्थानको औचित्य पुष्टिलाई प्राथमिकतामा राखी डिजिटल युगसँगै प्रविधिमैत्री नीति तथा कार्यक्रम तर्जुमा गरी निष्ठापूर्वक जिम्मेवारी निर्वाह गर्दै संस्कृतिबाटै समृद्धिको आधार निर्माण गर्न नयाँ शिराबाट अगाडि बढ्ने कोसिस गरेको बताउनुहुँदै संस्थानको वार्षिकोत्सव समय र आ.व.को समीक्षा गर्ने समयको तादात्म्यता हुने भएकाले हामीले वार्षिकोत्सव सँगसँगै हरेक आ.व.का समीक्षा गर्दै वार्षिक प्रगति प्रतिवेदन गरिमामय वार्षिकोत्सवका दिन सार्वजनिक गर्ने गरेको बताउनुभयो । मा।मन्त्री ज्यू स्वयम् प्रखर साहित्यकार, संस्कृतिविद् भएकाले यस निकायको कार्यप्रकृति, निकायगत चिरस्थायी हितमूलक नीति सहितको असल अभिभावकत्व प्राप्त गर्नेमा विश्वास व्यक्त गर्नुभयो । साहित्यमा एउटा अक्षर तथा एउटा शब्दको महत्त्व र शक्ति कतिसम्म हुन्छ भन्ने कुरा मा.मन्त्रीज्यूलाई राम्रोसँग ज्ञान भएको, त्यतिमात्रै नभई सिर्जनशील प्राणीहरूको इमानदारीता, कर्तव्यनिष्ठताको विशेषता पनि मा.मन्त्रीज्यूलाई राम्रोसँग ज्ञान भएकाले प्रतिवेदनमा उल्लेख गरिएका ऐतिहासिक उपलब्धि भन्दा अझै बढी उपलब्धि हासिल गर्न मा.मन्त्रीज्यूको मार्गनिर्देशनलाई परिआए ज्यानै दाउमा लाएर पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वार्षिकोत्सवको अवसर पारेर सेमिनार हलको नामकरण नृत्यशास्त्री भैरव बहादुर थापा हल, रेकर्डिङ स्टुडियोको नाम स्वरसम्राट नारायण गोपाल रेकर्डिङ स्टुडियो, नवनिर्मित पुस्तकालयको नाम महाकवि लक्ष्मी प्रसाद देवकोटा पुस्तकालय नामकरण गरी शिष्टाचारको सम्मान गर्ने कोसिस गरेको बताउनुहुँदै नृत्यशास्त्री भैरव बहादुर थापा सेमिनार हलभित्र प्रवेश गर्दैगर्दा सम्पूर्णमा नृत्यशास्त्री बन्ने ऊर्जा प्राप्त होस्, महाकवि लक्ष्मी प्रसाद देवकोटा पुस्तकालय प्रवेश गर्दैगर्दा सम्पूर्णमा महाकवि लक्ष्मी प्रसाद देवकोटा बन्ने ऊर्जा प्राप्त होस्, स्वरसम्राट नारायण गोपाल रेकर्डिङ स्टुडियोमा प्रवेश गर्दैगर्दा सम्पूर्णमा स्वरसम्राट नारायण गोपाल बन्ने ऊर्जा प्राप्त होस् भन्ने कामना व्यक्त गर्नुभयो । साथै सम्मानित स्रष्टालाई बधाई ज्ञापन गर्नुभयो भने गायक रेशम थापालाई शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्नुभयो ।



५४ औं वार्षिकोत्सवको अवसर पारेर सेमिनार हल, रेकर्डिङ स्टुडियो र नवनिर्मित पुस्तकालयको नामकरण समेत घोषणा गरिएको हो भने यस अघि मेगा हलको नाम र मिनी हलको नाम क्रमशः सत्यमोहन जोशी र हरि प्रसाद रिमालको नामबाट नामकरण गरिएको थियो ।


अकल्पनीय ऋण, उपदान दायित्व, कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोष जस्ता अनेकन् नीतिगत समस्याग्रस्त निकायमा युवा विषयविज्ञ महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले संस्थानको नेतृत्व सम्हालेसँगै राष्ट्रिय नाचघरदेखि हाल सांस्कृतिक संस्थानसम्म सधैँ घाटामा रहेको निकाय इतिहासमै पहिलोपटक नाफामा जान सफल भई ऐतिहासिक उपलब्धि हासिल गर्न सफल भएको छ ।






































































