माननीय संस्कृति मन्त्रीज्यूबाट अत्याधुनिक सेमिनार हल समुद्घाटन : सांस्कृतिक संस्थान

माननीय संस्कृति मन्त्रीज्यूबाट अत्याधुनिक सेमिनार हल समुद्घाटन : सांस्कृतिक संस्थान


माननीय संस्कृति मन्त्रीज्यूबाट अत्याधुनिक सेमिनार हल समुद्घाटन : सांस्कृतिक संस्थान


सांस्कृतिक संस्थानको ५३ औं वार्षिकोत्सवको अवसरमा सांस्कृतिक पर्यटनमैत्री कार्यक्रम लक्षित सांस्कृतिक संस्थानको अत्याधुनिक सेमिनार हल समुद्घाटन गरिएको छ । प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय मन्त्री श्री बद्री प्रसाद पाण्डेज्यूको हातबाट सो सेमिनार हल समुद्घाटन गरिएको हो । 

DSC05608.JPG
राष्ट्रिय नाचघरदेखि सांस्कृतिक संस्थानसम्मको इतिहासमा विभिन्न कार्यकालका सञ्चालक समितिका निर्णयहरूमा निकायगत कार्यप्रकृति अनुसार अपरिहार्य सांस्कृतिक पर्यटनमैत्री क्रियाकलापका लागि सेमिनार हल निर्माण गर्ने भनी निर्णयमै सीमित रही हालसम्म कार्यान्वयन हुन सकेको थिएन । तर वर्तमान नेतृत्वको अथक प्रयासमा नेपाल सरकारको आ.व.२०८१/८२ को वार्षिक बजेटमा सेमिनार हल निर्माणका लागि बजेट विनियोजन भएकाले कार्यक्रम मेक अप कक्ष र कार्यक्रम तयारी कक्ष सहितको अत्याधुनिक सेमिनार हल निर्माण गरिएको हो । माननीय मन्त्रीज्यूको अभिभावकत्वमा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागबाट सो अत्याधुनिक सेमिनार हल निर्माण गरिएको हो । संस्थानको नवनिर्मित सेमिनार हलको सिट क्षमता ६० जनाको रहेको छ । रैथाने खानपान सहित मौलिक संस्कृति प्रदर्शन गर्न उपयुक्त गन्तव्यका रूपमा सांस्कृतिक संस्थानको विकास भएको छ । सेमिनार हल निर्माण भएकाले यसबाट सांस्कृतिक पर्यटनमैत्री क्रियाकलाप सम्पन्न गरी सांस्कृतिक पर्यटनको विकास सहित संस्थानको समृद्धि हुनेतर्फ विश्वास लिइएको छ । 

DSC05618.JPG

माननीय मन्त्रीज्यूले समुद्घाटन गर्नुहुँदै उद्देश्य केन्द्रित रही सेमिनार हल सञ्चालन गर्न मार्गनिर्देशन दिनुभयो । त्यसोत निकायगत ढंगले अपरिहार्य निर्माण गर्ने भनी हालसम्म निर्णयमै सीमित रहेको श्रव्यदृश्य सामग्री उत्पादनका लागि सांस्कृतिक संस्थान रेकर्डिङ स्टुडियो पनि केही समय अघि मिति २०८१ माघ ८ गते माननीय मन्त्रीज्यूकै हातबाट समुद्घाटन गरिएको थियो । 

DSC05612.JPG

वि.सं. २०१६ सालमा स्थापित ‘राष्ट्रिय नाचघर’ लाई समग्र नेपाली संस्कृतिको संस्थागत विकासका लागि सञ्चार संस्थान ऐन, २०२८ अनुसार वि.सं २०२९ साल असार ५ गते नाम परिमार्जन सहित “सांस्कृतिक संस्थान” को रूपमा पुनर्गठन गरिएको हो । संस्थानको हिसाबले ५३ औं वार्षिकोत्सवको दिन हो । संस्थानको इतिहासको पानालाई पल्टाएर हेर्ने हो भने संस्कृति विभागबाट सुरु भई राष्ट्रिय नाचघर हुँदै सांस्कृतिक संस्थानसम्म आइपुग्दा विभिन्न आरोह–अवरोहहरू पार गरेको छ । नेपालको पहिचानयुक्त लोकसंस्कृतिलाई सजीव प्रदर्शनीका माध्यमबाट संरक्षण, संवद्र्धन, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने अभिभारा बोकेको संस्थानको उत्पत्ति एवम् इतिहासकालको लेखाजोखा गर्ने हो सत्यतथ्य खोज–अनुसन्धानको जरुरी देखिन्छ । संस्थान संस्कृति विभागका रूपमा वि.सं.२०१६ सालभन्दा अगाडिदेखि स्थापित थियो भन्ने कुराको लेखहरू थुप्रै इतिहास सम्बन्धी पुस्तक, राजनैतिक सम्बन्धी पुस्तक तथा संस्कृति सम्बन्धी पुस्तकहरूमा पाइन्छ । वि.सं.२०१६ सालमा स्थापित राष्ट्रिय नाचघर पनि संस्कृति विभाग अन्तर्गत रहेको तथ्य वरिष्ठ संस्कृतिविद्, नृत्यशास्त्री एवम् नेपालको जिउँदो सांस्कृतिक सम्पदा श्री भैरव बहादुर थापाज्यूका थुप्रै लेख र अन्तर्वार्तामा पाइन्छ । राष्ट्रिय नाचघरबाट नाम परिमार्जन सहित वि.सं.२०२९ सालमा सांस्कृतिक संस्थानको रूपमा पुनर्गठन भएको अवधिलाई हेर्ने हो भने संस्थानको ६६ औं वार्षिकोत्सव हो । 

DSC05617.JPG

 

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij