सुशासन स्थापनापछि संस्थानको ६९.४७ प्रतिशतले आयमा वृद्धि : कान्तिपुर समाचार

सुशासन स्थापनापछि संस्थानको ६९.४७ प्रतिशतले आयमा वृद्धि : कान्तिपुर समाचार


 

 

 

सुशासन स्थापनापछि संस्थानको ६९.४७ प्रतिशतले आयमा वृद्धि : कान्तिपुर समाचार 

 

पर्यटन नीति, २०८२ सार्वजनिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डेज्यूले नीतिगत प्रणालीको विकास सहित सुशासनतर्फ आफ्नो जोड रहेको धारणा अभिव्यक्त गर्नुहुँदै सांस्कृतिक संस्थानमा आफूले अभिभावकत्व ग्रहण गरेसँगै हलमा हुने बेथितिलाई निस्तेज पार्न र उत्पादनमैत्री क्रियाकलापलाई जोड दिन निर्देशन दिए बमोजिम संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन र कर्मचारी कर्तव्यनिष्ठ भएर जिम्मेवारी निभाउँदा आयमा वृद्धि भएको बताउनु भएको सन्दर्भलाई कान्तिपुर पत्रिकाका श्री सुरज कुँवरले समाचार तयार पार्नुभएको हो ।


कान्तिपुर समाचार लिंक:

https://ekantipur.com/business/2025/07/29/even-though-the-prime-minister-said-not-to-discount-the-hall-rent-the-dance-hall-made-a-profit-10-30.html

 

कान्तिपुरबाट सम्प्रेषित पुरा समाचार:-

‘प्रधानमन्त्रीले भने पनि हल भाडा छुट नगर्नु भनेपछि नाचघरले नाफा कमायो’

  • नाचघरले एक वर्षमा आफ्नो आम्दानी ६९.४७ प्रतिशतले वृद्धि गर्दै १ करोड १३ लाख आम्दानी गर्‍यो
श्रावण १३, २०८२
Even though the Prime Minister said not to discount the hall rent, the dance hall made a profit
पर्यटन मन्त्रालयमा सोमबार पर्यटन नीति सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री बद्रीप्रसाद पाण्डे । तस्बिर : पर्यटन मन्त्रालय

 

  • राष्ट्रिय नाचघरले हल भाडा छुट नगर्नु भन्ने मन्त्रीको निर्देशनपछि ६९.४७ प्रतिशतले आम्दानी वृद्धि गरेको छ।
  • यसले १ करोड १३ लाख आम्दानी आर्जन गर्दै अन्य सामाजिक संस्थाहरूको तुलनामा सबैभन्दा धेरै आम्दानी गरेको छ।
  • पर्यटन मन्त्री पाण्डेले नाचघरको सफलतामा सुशासनको महत्त्वलाई जोड दिएका छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

काठमाडौँ — लोक संस्कृति संरक्षण गर्ने उद्देश्यले ६६ वर्षअघि स्थापना भएको राष्ट्रिय नाचघरको मुख्य आम्दानीको स्रोत जमलमा भएको हल भाडा हो । तर, अधिकांश आयोजकको राजनीतिक भनसुन र पहुँचका कारण निरन्तर हल भाडा नतिर्दा सञ्चालन खर्चसमेत उठाउन नसकिरहेको नाचघर (सांस्कृतकि संस्थान) हरेक वर्ष घाटामा चलिरहेको थियो । यसको तालुकदार मन्त्रालय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हो ।

जब पर्यटन मन्त्रालयमा बद्री पाण्डे मन्त्री बहाल भएर ०८१ आसर ३१ गते पुगे । नाचघरका कर्मचारीले ‘बिफ्रिङ’ बैठकमा मन्त्री पाण्डेलाई भनसुनका कारण सित्तैमा हल भाडामा लगाउँदा नाचघर चलाउनै नसकेको गुनासो पोखेका थिए । उनीहरुको गुनासोमा पर्यटन मन्त्री पाण्डेले भनेका थिए, ‘अबदेखि प्रधानमन्त्रीले भने पनि हल भाडा छुट नगर्नु !’ मन्त्रीको यति निर्देशन पाएपछि नाचघरका महानिर्देशक किरणबाबु पुन र अध्यक्ष चन्द्रकुमार राई हतुवालीले गत वर्ष साउनदेखि कडाइका साथ निर्देशन पालना गरे । यसको परिणाम नाचघरले एक वर्षमा आफ्नो आम्दानी ६९.४७ प्रतिशतले वृद्धि गर्दै १ करोड १३ लाख आम्दानी गर्‍यो ।

अर्थ मन्त्रालयले भर्खरै सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा’ प्रतिवेदनले सामाजिक क्षेत्र अन्तर्गत पर्ने ५ वटा संस्थाहरुमध्ये यसले अन्यको दाँजोमा सबैभन्दा धेरै आम्दानी गरेको देखिन्छ । ‘सांस्कृतिक संस्थानको सञ्चालन आयमा ६९.४७ प्रतिशत (रु १ करोड १३ लाख) ले वृद्धि भएको छ । यो बाहेक अन्य संस्थानको सञ्चालन आय आर्थिक वर्ष २०७९/८० को तुलनामा घटेको छ,’ अर्थ मन्त्रालयको प्रतिवदेनमा लेखिएको छ । सामाजिक क्षेत्र अर्न्तगत गोरखापत्र, जनक शिक्षा सामग्री केन्द्र, सार्वजनिक सेवा प्रसारण नेपाल र राष्ट्रिय आवास कम्पनी लिमिटेड छन् ।

‘अर्थतन्त्रमा सबैतिर चाप परेका बेला नाचघरले आर्जन गरेको आम्दानी सानो सुशासन प्रयास हो’, सोमबार पर्यटन नीति सार्वजनिकीकरण कार्यक्रममा मन्त्री पाण्डेले भने, ‘हाम्रो निकाय नै चल्न अप्ठ्यारो पर्‍यो भन्दै आएका थिए । मैले डिस्काउन्ट र मिनाहा प्रधानमन्त्रीले भने पनि नदिनु । मैले भने पनि नदिनु भएको थिए । त्यहाको महाप्रबन्धकले मेरो त्यति शब्द समाप्तु भयो । अहिले आम्दानी बढ्दा त्यहाँ कर्मचारीको साख उठेको छ ।’

पर्यटनमन्त्री पाण्डेले यो वर्ष नाचघरमा कर्मचारीका रुपमा कार्यरत कलाकारले स्टुडियो खोलेको, नयाँ सृजनात्मक तालिम सञ्चालन गरिरहेकोमा प्रशंसा व्यक्त गरे । उनले भने, ‘२०३२ सालमा बनाइएको गति नाटक मुनामदनमा यसपटक नयाँ कलाकार लिएर उनीहरु सातै प्रदेशमा मञ्चन गर्न पुगे । सुशासनका लागि सामान्य अठोटले पनि काम गर्छ भन्ने यो एउटा सानो उदाहरण हो ।’

नाचघरसँग ७ सय दर्शक अटाउने थिएटर हल छ । जसको भाडा न्यूनतम ६० हजारदेखि प्राइम टाइममा एक लाख रुपैयाँसम्म पर्छ । पर्यटन मन्त्रालयसँग विभाग, समिति, प्रतिष्ठान, आयोग, कोष, परिषद्, प्राधिकरण लगायतका ३८ वटा निकाय छन् । यीमध्ये हल भाडा लगाएर आम्दानी गर्ने अन्य निकायमा नेपाल पर्यटन बोर्ड र नेपाल प्रज्ञा प्रतिष्ठान पनि हुन् ।

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij